दुई शाखा प्रमुखलाई निलम्बनको पत्र काटेपछि सूर्याेदय वोमी लघुवित्तमा खैलाबैला, आन्दोलन चर्काउने कर्मचारीको चेतावनी

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको आन्तरिक कलह चुलिंदै गएको छ। कम्पनीका ११९ जना कर्मचारीको दस्तखतसहित ९ वटा मागहरू राखेर व्यवस्थापनलाई पठाएको पत्रको आधारमा दुईजना शाखा प्रमुखलाई निलम्बनको पत्र काटेपछि आन्तरिक कलह चुलिएको हो।
कर्मचारीले व्यवस्थापन तहले जायज माग सम्बोधन गर्नुको सट्टा प्रलोभन देखाउने, फिल्डमा र कार्यालय सहयोगीमा झार्छु, पछि गाह्रो पर्ला जस्ता भाषा प्रयोग गरी धम्क्याएको आरोप लगाएका छन्।
कर्मचारीले दुई शाखा प्रमुखको निलम्बन फुकुवा गर्न, जिम्मेवारी भत्ता पुरानै अनुसार लागू गर्न, करारका कर्मचारीलाई स्थायी बनाउन, समान अंकको आधारमा तलव बढाउन, कार्यालय सहयोगी राख्न, कर्मचारीबीच विभेद नगर्न, कार्यालय समय परिमार्जन गर्न र कर्मचारी युनियन बनाउन मार्ग प्रशस्त गर्न माग राखेका छन्।
माग सम्बोधन नभए वा आन्दोलन दमन गर्न खोजेमा शाखा कार्यालय बन्द गर्ने र केन्द्रीय कार्यालय घेराउ गर्ने चेतावनी कर्मचारीले दिएका छन्।
कर्मचारीलाई बिहान ८ देखि बेलुकी ८ बजेसम्म काममा लगाइएको तर कानूनबाट बच्न बिहान ८ देखि बेलुकी ४ बजेसम्म काम गरेको देखिने गरी सिस्टम राखेर श्रमशोषण गरेको आरोप लगाएका छन्। साथै व्यवस्थापकले कर्मचारीलाई कम्पनीको सम्पत्ति मान्नुपर्नेमा दायित्व मानेको पनि आरोप पनि लगाएका छन्।
हाल आन्तरिक तथा बाह्य कारणले कर्मचारीमा त्रास सिर्जना भएको, प्रत्यक्ष फिल्डमा खट्ने कर्मचारीको मानसिक स्वास्थ्यमै असर परेको, केहीले एन्जाइटी तथा डिप्रेशनको औषधी सेवन गर्नपरेको र फिल्डमा खट्नेलाई मोसो दल्ने, जुत्ताको माला लगाउने जस्तो घट्ना घटिरहेको अवस्थामा पनि व्यवस्थापकले कर्मचारीलाई नै दोषी देखेको र शेयरधनीलाई बोनसले पोस्ने गरेको बताएका छन्।
व्यवस्थापनको कमजोरीले कर्मचारीले आत्महत्या नै गर्नुपर्ने सम्मको अवस्था आउन लागेको भन्दै आफ्ना जायज माग तत्काल सम्बोन गर्न माग राखेका छन्।















