भारतीय बीमा नियामक तथा विकास प्राधिकरणको अध्यक्षमा अजय सेठ नियुक्त

काठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरणको अध्यक्षमा अजय सेठ नियुक्त भएका छन् ।
भारत सरकारले पूर्व वित्त सचिव अजय सेठलाई भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आइआरडीएआइ) को नयाँ अध्यक्षमा तीन वर्षका लागि नियुक्त भएका हुन् ।
सेठ १९८७ ब्याचका कर्नाटका क्याडरका भारतीय प्रशासन सेवा (IAS) अधिकृत हुन्। उनले गत जुन अन्त्यमा सेवा निवृत्त भएका थिए।
यो पद मार्च १३ मा तत्कालीन अध्यक्ष देबाशीष पाण्डाले आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेपछि रिक्त भएको थियो।
त्यसयता दिल्लीका सत्ता गल्लीहरूमा सेठसँगै पूर्व रक्षा सचिव गिरधर अरमानेको नाम पनि चर्चामा थियो। अन्ततः भारत सरकारको स्वीकृतिपछि सेठको नियुक्ति पक्का भएको हो।
सेठको तीन दशकभन्दा बढी लामो प्रशासनिक यात्रामा सार्वजनिक वित्त, कर प्रणाली, तथा सामाजिक क्षेत्रसँग सम्बन्धित नीतिगत कार्यहरूमा गहिरो अनुभव रहेको छ। उनले भारतको पहिलो सार्वभौम हरित बन्ड जारी गर्ने प्रक्रिया नेतृत्व गर्नुका साथै आर्थिक मामिला विभागमा पूर्वाधार वित्त सचिवालयको स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।
आईआईटी रुरकीबाट मेकानिकल इन्जिनियरिङमा बीटेक गरेका सेठले फिलिपिन्सको अतेनेओ दे मनीला विश्वविद्यालयबाट एमबीए गरेका छन्। कर प्रणाली सुधारका लागि कर्नाटकमै प्रभावशाली ढंगले कार्यान्वयन गरेपछि सन् २०१३ मा उनलाई प्रधानमन्त्रीद्वारा उत्कृष्ट सार्वजनिक प्रशासनका लागि प्रदान गरिने पुरस्कारले सम्मान गरिएको थियो।













