इन्फिनिटी लघुवित्तको नाफा र ईपीएस दोब्बर बढ्यो, लाभांश क्षमता ८ करोड

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आव खुद नाफा १०४.७१ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले अघिल्लो आवको असार मसान्तसम्म ४ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म दोब्बरभन्दा बढीले वृद्धि भएर ९ करोड ३७ लाख रुपैयाँ पुगेको हो।
त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि अघिल्लो वर्ष ९.२१ रुपैयाँ रहेकोमा गत वर्ष दोब्बरभन्दा बढीले वृद्धि भएर १८.८५ रुपैयाँ पुगेको छ।
कम्पनीको खुद ब्याज आम्दानी २९ करोड रुपैयाँबाट ३९.६४ प्रतिशतले बढेर साढे ४० करोड रुपैयाँ पुगेको छ भने खुद सञ्चालन आम्दानी ३० करीब ३१ करोड रुपैयाँबाट बढेर ४३ करोड ५६ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी अघिल्लो आवमा कम्पनीले ४ करोड ९८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष १७०.७७ प्रतिशतले वृद्धि भएर करीब साढे १३ करोड रुपैयाँ पुगेको छ।
चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको रिर्जभमा २० करोड १७ लाख रुपैयाँ र वितरणयोग्य नाफा (लाभांश क्षमता) ८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष लाभांश क्षमता ४ करोड ९१ लाख रुपैयाँ ऋणात्मक थियो।
कम्पनीले ३ अर्ब ९७ करोड रुपैयाँ सापटी लिएर ५ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ जसबाट १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन भएको छ।
कम्पनीको खराब कर्जामा पनि केही सुधार आएको छ। अघिल्लो वर्ष १०.१९ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ७.४३ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५६.६५ रुपैयाँ रहेको छ।












