बैंकिङ अपराधको चाप काठमाडौंमै केन्द्रित, देशभर १३ हजारभन्दा बढी मुद्दा

काठमाडौँ । नेपाल प्रहरीको पछिल्लो तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकिङ कसुरसम्बन्धी मुद्दामा चार प्रतिशतभन्दा बढी वृद्धि भएको देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा देशभरबाट बैंकिङ कसुरका १३ हजार ८३७ वटा मुद्दा दर्ता भएका छन्।
देशका विभिन्न प्रदेशमध्ये काठमाडौं उपत्यकामा सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन्। उपत्यकाभित्र मात्रै ८ हजार ८० वटा मुद्दा दायर भएका छन् जुन कुल बैंकिङ कसुरमध्ये झण्डै ५८ प्रतिशत हाराहारीमा पर्छ।
त्यस्तै, कर्णाली प्रदेशमा भने सबैभन्दा कम बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। उक्त प्रदेशमा २९७ वटा मात्र मुद्दा दर्ता भएका छन्, जुन अन्य प्रदेशहरूको तुलनामा निकै कम हो। मधेश प्रदेशमा १ हजार २७८, कोशीमा १ हजार २५३, गण्डकीमा ८०६, बागमतीमा ७९८ र सुदूरपश्चिम प्रदेशमा ४४३ वटा मुद्दा दर्ता भएका छन्।
आर्थिक वर्ष २०८०/८१ मा देशभर ५९ हजार २०३ वटा विभिन्न मुद्दा दर्ता भएका थिए। गत आर्थिक वर्षमा कुल मुद्दा संख्या केही घटेर ५८ हजार ४७२ मा सीमित भए पनि बैंकिङ कसुरका मुद्दा भने उल्टै बढेका छन्।
प्रहरी प्रशासनका अनुसार बैंकिङ कानुनको उल्लंघनमा चेक रकम नतिर्नु, कागजात दुरुपयोग गर्नु, ऋण लिएर फिर्ता नगर्नुजस्ता गतिविधि प्रमुख छन्। यस्ता मुद्दामा कानुनी कारबाही पनि तीव्र पारिएको उल्लेख गरिन्छ।












