हिमालयन बैंकको एफपिओ भोलि बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?

१२ श्रावण २०८२, सोमबार १२:२०

काठमाडौँ । हिमालयन बैंकले निष्काशन गरेको एफपीओ भोलि अर्थात् साउन १३ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका भोलि बिहान ९ बजे एफपिओ बाँडफाँट हुने भएको हो ।

बैंकको एफपिओमा ८ लाख ६३ हजार ९१९ जनाको हात रित्तो हुने भएको छ । कम्पनीले असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्कासन गरेको एफपिओमा १७ लाख ८८ हजार ९६५ जनाले ४ करोड ९ लाख ९८ हजार ६४० कित्ताका लागि आवेदन दिएका हुन् । जस मार्फत ६ अर्ब ४३ करोड ६७ लाख ८६ हजार ४८० रुपैयाँ संकलन भएको छ ।

कम्पनीको एफपिओमा ४।४३ गुणा बढी आवेदन परेको हो । धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार १० कित्ताका दरले एफपीओ बाँडफाँट हुनेछ । जसअनुसार ९ लाख २५ हजार ४६ जनाले सेयर पाउने छन् । यीमध्ये ९ जनाले ११ कित्ताका दरले र बाँकीले १० कित्ताका दरले पाउने छन् ।

बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । बैंकले शेयर पूँजी वृद्धि गरी पूँजी संरचना संस्थापक र सर्वसाधारणतर्फ ७०ः३० कायम गर्नका लागि एफपीओ निष्कासन गरेको हो। एफपीओ निष्कासनपछि बैंकको संस्थापकतर्फ १५ करोड ८० लाख ७१ हजार ६३७।७२ कित्ता र सर्वसाधारणतर्फ ६ करोड ७७ लाख ४४ हजार ९८७।५९ कित्ता शेयर कायम हुनेछ।

एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*