बैदेशिक रोजगार म्यादी बीमा पुल खारेजको माग गर्दै सर्वोच्चमा रिट, आइतबार बहस हुने

काठमाडौं । बीमा प्राधिकरणले जारी गरेको बैदेशिक रोजगार म्यादी बीमा पुल खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता गिरिजा अधिकारीले दर्ता गराएको उक्त रिटमाथि आगामी साउन १८ गते अन्तरिम आदेशमाथि छलफल गर्न पेशी तोकिएको छ ।
बीमा प्राधिकरणले जारी गरेको बैदेशिक रोजगार म्यादी बीमा पुल गैर कानुनी रहेको, बीमा ऐनको दफा १६८ बमोजिम नेपाल सरकारबाट मात्रै सामूहिक बीमा कोष (पुल) सम्बन्धी निर्देशिका जारी हुनुपर्नेमा बीमा प्राधिकरणले अधिकार क्षेत्र बाहिर गई दफा १६६ बमोजिम जारी गरिएको भन्दै खारेजीको माग गरिएको हो ।
बैदेशिक रोजगार म्यादी बीमा पुल खारेज भएको अवस्थामा लघु जीवन बीमा कम्पनीहरुले व्यवसाय नै नगरी पाउने व्यापार हिस्सा गुम्नेछ । कुनै एक प्रकृतिको मात्रै बीमक कम्पनी सामेल भई कुनै विशेष प्रकारको जोखिममा पुल बनाउन सकिने भएपनि बीमा प्राधिकरणले क्षमता नै नभएका लघु जीवन बीमा कम्पनीहरुलाई समेत बैदेशिक रोजगार म्यादी बीमा शुल्क भागबण्डा गर्ने निर्णय गरेकोले खारेज गर्न माग दावी गरिएको छ ।













