एनआईसी एशिया क्यापिटलद्वारा संचालित सामूहिक लगानी कोष योजनाहरुको प्रतिफल घोषणा, कुनको कति ?

१८ श्रावण २०८२, आईतवार ११:५४

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ का लागि आफूमार्फत सञ्चालित सामूहिक लगानी कोष योजनाहरूको नगद प्रतिफल घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको १६०औँ बैठकले विभिन्न बन्दमुखी तथा खुलामुखी योजनाहरूमा निश्चित दरमा प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

यस निर्णयअनुसार बन्दमुखी योजनाहरूको हकमा इकाइधनी दर्ता पुस्तिका साउन २९ गतेका लागि एक दिनका लागि बन्द गरिनेछ भने खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’को हकमा इकाइधनी दर्ता किताब साउन १८ गतेमै बन्द गरिने कम्पनीले जानकारी गराएको छ।

एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.१० प्रतिशत नगद प्रतिफल वितरण गर्नेछ। सो योजनाबाट इकाइधनीहरूलाई करिब १० करोड ३० लाख रुपैयाँ वितरण गरिनेछ। यसैगरी, एनआईसी एशिया ब्यालेन्सड फण्डले ९.९० प्रतिशत प्रतिफलका दरमा ७ करोड ४७ लाख रुपैयाँभन्दा बढी वितरण गर्नेछ। एनआईसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्डको प्रतिफल दर ८.६५ प्रतिशत रहनेछ, जसबाट करिब १० करोड ८१ लाख रुपैयाँ वितरण गरिनेछ। खुलामुखी योजना एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले ५.५५ प्रतिशत दरमा करिब ७ करोड ९२ लाख रुपैयाँ वितरण गर्नेछ।

यी चार योजनाबाट कुल ३६ करोड ५१ लाख रुपैयाँभन्दा बढी नगद प्रतिफल वितरण गरिनेछ। विगत वर्षको तुलनामा हेर्दा, फ्लेक्सी क्याप फण्डले अघिल्लो आर्थिक वर्षमा १०.५० प्रतिशत प्रतिफल दिएको थियो। ब्यालेन्सड फण्डले भने स्थापना वर्षदेखि हालसम्म पाँच वर्षको अवधिमा क्रमशः ८, ३०, १३, १० र ९.२५ प्रतिशत दरमा प्रतिफल दिँदै कुल ७९.५० प्रतिशत नगद प्रतिफल वितरण गरिसकेको छ।

डाइनामिक डेप्ट फण्डले पनि स्थापना पछिको चार वर्षमा क्रमशः १०, ६, १० र १० प्रतिशत दरमा प्रतिफल वितरण गर्दै हालसम्म कुल ३६ प्रतिशत नगद प्रतिफल वितरण गर्न सफल भएको छ। साथै, एनआईसी एशिया क्यापिटलले सञ्चालन गरेको पहिलो बन्दमुखी योजना ‘एनआईसी एशिया ग्रोथ फण्ड’ ७ वर्षको अवधिपछि फागुन २८ गते परिपक्व भइसकेको छ। उक्त योजनाबाट ९९.९३ प्रतिशत नगद प्रतिफल वितरण गरिएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*