आशा लघुवित्तको प्रगतिः नाफासँगै ईपीएस बढ्यो, लाभांश क्षमता १६ करोडमाथि

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा गत आर्थिक वर्षमा २४८.२८ प्रतिशत खुद नाफा कमाएको छ।
कम्पनीले आज प्रकाशित गरेको गत आवको वित्तीय विवरणअनुसार अघिल्लो आवको असार मसान्तसम्म ६ करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आवको सोही अवधिसम्म बढेर २० करोड ९२ लाख रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको ब्याज आम्दानी, सञ्चालन आम्दानी र सञ्चालन नाफा समेत बढेकाले खुद नाफामा उछाल आएको हो।
अघिल्लो वर्ष ४४ करोड ११ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको गत वर्ष ६७.४७ प्रतिशतले वृद्धि भएर ७३ कराृेड ८८ लाख रुपैयाँ पुगको छ।
त्यसैगरी कम्पनीको खुद सञ्चालन आम्दानी ५४ करोड १३ लाख रुपैयाँबाट बढेर ७९ करोड १७ लाख रुपैयाँ र सञ्चालन नाफा ८ करोड ४८ लाख रुपैयाँबाट ह्वात्तै बढेर ३० करोड १६ लाख रुपैयाँ पुगेको छ।
योसँगै कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) पनि ९.३७ रुपैयाँबाट बढेर २८.५५ रुपैयाँ पुगेको छ। गत वर्ष कम्पनीको खराब कर्जा (एलपीएल) ४.८१ प्रतिशतबाट घटेर ४.४८ प्रतिशतमा झार्न सफल भएको छ।
चुक्ता पूँजी ७३ करोड ३० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा रिजर्भमा ३७ करोड ७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष १४ करोड ५१ लाख रुपैयाँ रहेको लाभांश क्षमता (वितरणयोग्य नाफ) गत वर्ष १२.७५ प्रतिशतले बढेर १६ करोड ३६ लाख रुपैयाँ पुगेको छ।
गत असार मसान्तसम्म कम्पनीले ६ अर्ब ४५ करोड रुपैयाँ सापटी लिएर १० अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरी ३ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १७२.९० रुपैयाँ रहेको छ।












