बैदेशिक रोजगार म्यादी बीमामाथि अन्तरिम आदेशबारे आज सर्वोच्चमा बहस

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालन गर्ने निर्णयका विरुद्धमा अधिवक्ता गिरिजा प्रसाद अधिकारी र नारायण प्रसाद नेपालले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा बहस सुरु भएको छ ।
बैदेशिक रोजगार म्यादी बीमा पुल सम्बन्धी निर्देशिका जारी गर्ने बीमा प्राधिकरणको २०८१।०४।०१ को निर्णय गैर कानुनी रहेको भन्दै दायर गरिएको रिटमाथि अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा आज छलफल सुरु भएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र सुनिल कुमार पोखरेलको इजलासमा बहस सूरु भएको छ । खाजापछि सुरु भएको बहसमा नेपाल बीमा प्राधिकरण, दुई पुनर्बीमा कम्पनी, नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको तर्फबाट महान्यायाधिवक्ताको तर्फबाट प्रतिरक्षा भइरहेको छ ।
आज बैदेशिक रोजगार म्यादी बीमामाथि अन्तरिम आदेश आए वा नआएमा बिदेश जाने नेपाली कामदारहरुको बीमा गर्ने कार्य भने रोकिने छैन । केवल बैदेशिक रोजगार म्यादी बीमा पोलिसी बिक्री बापतको रकम सबै कम्पनीहरुलाई बाँडफाँड गर्ने वा नगर्ने बिषय टुंगो लाग्नेछ ।













