‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’मा आवेदन दिने म्याद थप

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले गत साउन २९ गतेदेखि निष्कासनमा ल्याएको ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ मा आवेदन दिने म्याद थपिएको छ।
अवधि थपिएसँगै यस योजनाको इकाई खरीदका लागि अब भदौ १२ गतेसम्म आवेदन दिन सकिने भएको छ। एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना एक खुलामुखि योजना हो।
यसमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले गत असार ३ गते अनुमति दिएको थियो। जसमध्ये १ करोड ५० लाख इकाई योजना व्यवस्थापक रहेको एनआईसी एशिया क्यापिटललाई सुरक्षित गरी बाँकी ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणलाई ५ करोड इकाई बेच्न लागेको हो।
यसमा आवेदन दिंदा कम्तीमा १०० इकाई र बढीमा १ करोड इकाईसम्म माग गर्न सकिनेछ। यस अवधिसम्म कम्तीमा ५० करोड इकाईका लागि आवेदन परेमा मात्रै इकाई बाँडफाँड हुनेछ तर आवेदन नपरेमा योजना नै खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गरिनेछ।
यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ।












