काठमाडौं इन्द्र–अन्नपूर्ण योग लायन्स क्लब र सान इन्टरनेशनलले प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति कार्यक्रम सुरू

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ इन्द्र–अन्नपूर्ण योगले सान इन्टरनेशनल कलेजसँग सहकार्यमा प्रविधि–विधि–नेतृत्व छात्रवृत्ति शीर्षकमा विशेष छात्रवृत्ति कार्यक्रम सुरू गरेको छ । यस कार्यक्रमअन्तर्गत स्नातक तहका विभिन्न ६ वटा कार्यक्रममा पूर्ण छात्रवृत्ति उपलब्ध हुने भएको हो ।
कुल ३९ सिटका छात्रवृत्तिहरू यस कार्यक्रममा समावेश गरिएका छन् । स्नातक तहअन्तर्गत विज्ञान, व्यवस्थापन, प्रविधि तथा कानुन क्षेत्रलाई समेट्ने गरी तयार गरिएको यस छात्रवृत्ति योजनामा बी.एस्सी. बायोटेक्नोलोजीका ५ सिट, बीबीएका १५ सिट, बीआईटीका ५ सिट, बी.एस्सी. सीएसआईटीका ४ सिट, बीसीएका ४ सिट र बीए.एलएलबीका ६ सिट गरी जम्मा ३९ विद्यार्थीले पूर्ण छात्रवृत्ति प्राप्त गर्ने अवसर पाउनेछन् ।
उक्त छात्रवृत्तिका लागि भदौ ५ देखि आवेदन खुला हुने जनाइएको छ । आवेदन दिने विद्यार्थीसँग भदौको अन्तिम साता परीक्षा लिइने र त्यसको उत्कृष्ट नतिजाका आधारमा विद्यार्थी छनोट गरिने कार्यक्रम रहेको सान इन्टरनेशनल कलेजले जनाएको छ ।
प्रविधि–विधि–नेतृत्व शीर्षकले यस कार्यक्रमका तीन आधारभूत स्तम्भलाई प्रकट गर्ने गर्दछ । यसमा प्रविधि अर्थात नवप्रवर्तन र प्रविधागत दक्षता विकास, विधि अर्थात न्याय, नैतिकता र सुशासनको सुदृढीकरण तथा नेतृत्व अर्थात जिम्मेवार र दूरदर्शी नेतृत्वको विकासलाई प्राथमिकताका रूपमा लिइएको छ ।
सान इन्टरनेशनल कलेजका कार्यक्रम निर्देशक ध्रुव खड्काले यस अवसरमा लायन्स क्लब अफ काठमाडौँ इन्द्र–अन्नपूर्ण योगका सम्पूर्ण सदस्य, सान इन्टरनेशनल कलेज परिवार तथा सामुदायिक साझेदारप्रति आभार प्रकट गरे । उनले भने, ‘यो छात्रवृत्ति कार्यक्रम प्रविधि, विधि र नेतृत्वमा युवा सशक्तीकरणको महत्वपूर्ण कदम हो, जसले सक्षम, नैतिक र दूरदर्शी पेशेवर तयार गर्न सहयोग पुर्याउनेछ ।’













