कर्मचारीको तलब एक लाख बनाउने घोषणासहित नयाँ पार्टी स्थापना गर्ने दुर्गा प्रसाईंको उद्घोष

२ भाद्र २०८२, सोमबार १५:५६

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कर्मचारीको न्युनतम तलब एक लाख रुपैयाँ बनाउने घोषणा गर्दै नयाँ राजनीतिक पार्टी स्थापना गर्ने उद्घोष गरेका छन् । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर उनले सर्वसाधारणको हितका लागि नयाँ दल गठन गर्ने तयारी भएको जानकारी दिँदै यससम्बन्धी एजेन्डा सार्वजनिक गरेका हुन् ।

उनले सार्वजनिक गरेका प्रमुख एजेन्डामा कर्मचारीको न्युनतम तलब १ लाख रुपैयाँ कायम गर्ने, आयकर १० प्रतिशत मात्र लगाउने, घरबहाल कर ५ प्रतिशत बनाउने, भ्रष्टाचार गर्ने कर्मचारीलाई आजीवन कैद सजाय दिने, ६० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीलाई बाँकी ४० प्रतिशत कैद मिनाहा गरी उत्पादनमूलक क्षेत्रमा लगाउनेजस्ता घोषणा समावेश छन् ।

उनले यसअघि राजावादी आन्दोलनमा संलग्न हुँदा आफूलाई सरकारले ‘इन्काउन्टर’ गरेर मार्ने योजना बनाएको थाहा पाएपछि भारत जान बाध्य भएको दाबी गरे । आफूमाथि, परिवार तथा अस्पतालको खातामाथि रोक लगाइएपछि बिरामी उपचारमा समस्या हुन्छ कि भन्ने चिन्ताले आसाम प्रहरीसँग समन्वय गरी मानव अधिकारकर्मी र वकिलको उपस्थितिमा नेपाल फर्किएर स्वेच्छाले गिरफ्तारी दिएको बताए ।

पत्रकार सम्मेलनमा उनले एमाले नेता मदन भण्डारी र राजा वीरेन्द्र राष्ट्रवादी भएकै कारण हत्या भएको आरोप लगाए । त्यस्तै, १६ जना मारवाडी उद्योगी–व्यापारी र १० जना बिचौलियाले देशलाई डुबाएको दाबीसमेत गरे । उनका अनुसार २०७९ फागुन १ गतेदेखि २०८१ चैत १५ गतेसम्मको एउटा अध्याय सकिएकाले आर्थिक क्रान्तिको सुरुवात गर्न आफूले नयाँ पार्टी खोल्ने निर्णय गरेका हुन् ।

सो अवसरमा उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि भारतबाट गाडी चोरी गरी जीविकोपार्जन गरेको गम्भीर आरोप लगाए । गत चैत १५ गते तीनकुनेमा भएको आन्दोलनमा राप्रपाले मिलेर आफूमाथि छुरा प्रहार गरिएको दाबी गर्दै उनले भने, ‘राप्रपाका राजेन्द्र लिङ्देन दाइलाई म के भन्छु भने–यो त बैंक ठग हो हजुर बैंक ठग हो भन्थे । अब जीवनमा तिमीले धोका दिन सक्दैनौ । तिमी जस्तो भारतबाट गाडी चोरेर ल्याएर बिर्तामोडमा काटेर बेच्नेको सन्तान म होइन । मलाई १५ गते राप्रपा मिलेर छुरा हानेको छ । म बाँच्न सफल भएको मान्छे हुँ ।’

प्रसाईंले सरकारले आफूमाथि अनेकौँ मुद्दा लगाएको तर ती सबै झूट्टा सावित भएको उल्लेख गर्दै आफू राजनीतिक चेत बोकेको सफल व्यवसायी भएको दाबी गरे । ‘मेरा लागि अब मेरो परिवार र म भन्दा पनि नेपाल र नेपाली प्राथमिकतामा परेका छन् । राजनीतिले बिगारेको यो सुधारका लागि राजनीतिमा संलग्न हुन हामी बाध्य भएका छौं,’ उनले भने ।

उनले छिट्टै पार्टीको नामसमेत सार्वजनिक गर्ने बताएका छन् । ‘म लगायत हाम्रो अभियानका साथीहरूले राजनीतिक दल खोली दलमा संलग्न हुने अठोट गरेका छौं । त्यसकारण मैले राजनीतिक शक्ति निर्माणका लागि नयाँ दल गठन गर्ने निश्चय गरेको छु,’ प्रसाईंले घोषणा गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*