गौर हत्या काण्डः घटना घटेको १९ वर्षपछि मुद्दा चलाउन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले रौतहटको गौरस्थित राईसमिलमा २०६३ साल चैत ७ गते घटेको ‘गौर हत्या काण्ड’ मा १९ वर्षपछि मुद्दा चलाउन आदेश दिएको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले त्रिभुवन साहद्वारा दायर रिट निवेदनमा सुनुवाइ गर्दै मुद्दा अगाडि बढाउने आदेश दिएको हो ।
साहले जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला सरकारी वकिल कार्यालय रौतहटलगायतलाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए । सोही रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुद्दा चलाउनुपर्ने आदेश दिएको आम जनता पार्टीका अध्यक्ष प्रभु साहले जानकारी दिए ।
यो आदेशसँगै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पनि मुद्दामा तानिने भएका छन् । गौरस्थित राईसमिलमा २०६३ सालको अन्तरिम संविधान जलाएर मधेश आन्दोलनको नेतृत्व गर्दै आएका मधेसी जनअधिकार फोरमका अध्यक्ष यादवका निर्देशनमा उनका कार्यकर्ताले माओवादी कार्यकर्तामाथि आक्रमण गरी हत्या गरेको दाबी त्यतिबेलाको माओवादी पक्षले गरेको थियो ।
गौर हत्या काण्डमा २८ जना माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए । उनीहरुको भाला, छुरा, लाठी र गोली प्रहार गरी निर्मम हत्या गरिएको बताइएको छ । घटनामा २७ जनाको तत्कालै मृत्यु भएको र एक जनाको उपचारको क्रममा अस्पतालमा निधन भएको उल्लेख गरिएको छ ।
उक्त समयमा माओवादी सरकारमा थिए भने मधेसी जनअधिकार फोरम मधेश आन्दोलनमा सक्रिय थियो । घटनाकै समयमा तत्कालीन कांग्रेस नेता कृष्ण प्रसाद सिटौला गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए ।













