बन्दीपुर केवलकारले भदौ ११ देखि सर्वसाधारणमा आईपीओ ल्याउने

३ भाद्र २०८२, मंगलवार ०७:४३

काठमाडौं । बन्दीपुर केवलकार एंड टुरिजम लिमिटेडले यही भदौ ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्ने भएको छ। यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार १९ गते अनुमति पाएको थियो।

अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई ५ लाख ६६ हजार कित्ता र वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई ५ लाख २९ हजार ४०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ।

कम्पनीले अब १ लाख ५८ हजार ८२० कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि र २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ सर्वसाधारणलाई बेच्न लागेको हो।

यसमा आवेदन दिंदा कम्तीमा १० कित्ताका लागि र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिनेछ। यसर्थ घटीमा १ हजार र बढीमा २० लाख रुपैयाँ लाग्नेछ। यसमा भदौ १५ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ तर यो अवधिभित्र पर्याप्त आवेदन नपरेको खण्डमा मात्रै भदौ २५ गतेसम्म निष्कासन अवधि लम्बिनेछ।

कम्पनीको आईपीओलाई केयर रेटिंगस् नेपालले ‘केयर–एनपी डबल बी इस्यूअर’ रेटिंग दिएको छ यसले कम्पनीको वित्तीय दायित्व समयमै बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ।

यसमा आईपीओ निष्कासन तथा बाँडफाँडको काम नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेडले गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*