उड्ने कार हेर्नेहरुको भिड, हेर्नुहोस् यी आठ तस्बिर

काठमाडौँ। राजधानीमा मंगलबारदेखि सुरु भएको १७ औं नाडा अटो शोमा दर्शकको मुख्य आकर्षण ‘उड्ने कार’ र ‘ह्युमनोइड रोबोट’ बनेका छन् । नयाँ प्रविधिप्रति चासो देखाउने युवादेखि लिएर परिवारसम्मले उड्न कारको प्रत्यक्ष अवलोकन गर्न पाउँदा मेलास्थलमा ठूलो भीड लागेको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा भाद्र ३ देखि ८ गतेसम्म सञ्चालन हुने अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन कार्यक्रममा नाडाका अध्यक्ष करण चौधरीले अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई नेपालका लागि एक प्रमुख व्यावसायिक थलो भएको बताएका थिए। उनका अनुसार अटोमोबाइल क्षेत्रमा हाल करिब १० लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् भने ३ हजारभन्दा बढी व्यवसायी यस क्षेत्रमा संगठित रहेका छन्।

यसपटकको अटो शोमा नेपालमै बनेका हेल्मेट, लुब्रिकेन्ट्स, ब्याट्री र तीनपाङ्ग्रे सवारी साधनसमेत प्रदर्शनीमा राखिएका छन्। त्यस्तै, १९ वटा चारपाङ्ग्रे, १३ वटा लाइट कमर्शियल र ४ वटा दुईपाङ्ग्रे सवारी ब्रान्डले सहभागिता जनाएका छन्। साथै, ३५ भन्दा बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्ट्स, ब्याट्री, बैंक तथा वित्तीय संस्थाका स्टलसमेत राखिएका छन्।
मेलामा करिब डेढ दर्जन नयाँ मोडलका चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन सार्वजनिक भएका छन्। नयाँ मोडल हेर्ने, जानकारी लिने र प्रत्यक्ष अनुभव गर्ने अवसर पाएको दर्शक उत्साहित देखिएका छन्।

उड्ने कारको पहिलो पटक नेपालमा प्रदर्शन हुनु नाडा अटो शोको सबैभन्दा ठूलो आकर्षण बनेको छ। दर्शकले भविष्यको सवारी प्रविधिको झल्को पाएको अनुभव गरेका छन् भने आयोजकले यसलाई नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ आयामको सुरुवातका रूपमा लिएका छन्।

















