बीमाको पहुँच ५ प्रतिशतले बढ्यो, ५१ प्रतिशत नागरिक पहुँच बाहिरै

५ भाद्र २०८२, बिहीबार १०:४२

काठमाडौं । अघिल्लो आर्थिक बर्षको तुलनामा जीवन बीमाको पहुँच ५.०६ प्रतिशत विन्दुले बढेको देखिएको छ । नेपाल बीमा प्राधिककरणले तयार गरेको गत आवको तथ्यांकले यस्तो देखाएको हो ।

२०८१ असारसम्म जीवन बीमाको पहुँच ४३.२७ प्रतिशत नागरिकमा थियो । २०८२ असार मसान्तसम्म आउँदा त्यो ५.०६ प्रतिशत विन्दुले बढेर ४८.३३ प्रतिशत पुगेको हो, जुन हालसम्मकै उच्च पनि हो । अब ५१.६७ प्रतिशत नागरिक बीमाको पहुँच आउन बाँकी रहेको देखिन्छ ।

आव २०७९–८० को अन्त्यसम्ममा नेपालमा बीमाको पहुँच ४४.३८ प्रतिशत पुगेको थियो । बीमा पहुँचमा त्यसबेलासम्मका लागि त्यो विन्दु नै उच्च थियो । तर, त्यसपछि अर्थतन्त्रमा देखिएको शिथिलताका कारण नयाँ बीमा गर्ने व्यक्तिको संख्यामा कमी आउने, सरेन्डर बढ्ने लगायतले गर्दा बीमा पहुँच घट्न थालेको थियो । २०८१ साउनसम्म आउँदा बीमा पहुँच ४२.७० सम्ममा सिमित भएको थियो । २०८१ भदौ यता भने बीमा पहुँच बढ्दै आएका छ । असार सम्म आउँदा बीमा पहुँच सो विन्दुमा पुगेको हो ।

म्यादी, लघु म्यादी, वैदेशिक रोजगार जीवन बीमालेख सहित गरेर बीमाको पहुँचको अवस्था यस्तो देखिएको हो । म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेख हटाउँदा १७.७० प्रतिशत नेपालीमा बीमा पहुँच पुगेको देखिन्छ । वैदेशिक रोजगार जीवन बीमलेख बाहेकको अवस्थामा भने ३९.९९ प्रतिशत नेपालीमा बीमा पहुँच पुगेको छ ।

गत आवसम्म आउँदा सक्रिय जीवन बीमालेखको संख्या भने एक करोड ५६ लाख ३० हजार ९९९ रहेको छ । २०८१ असारसम्म यस्तो संख्या एक करोड ३८ लाख ८१ हजार ४९२ थियो ।

गत आवमा जीवन बीमा कम्पनीहरुको व्यवसाय पनि १६.४७ प्रतिशतले बढेको छ । हाल नेपालमा १४ जीवन र तीन लघु जीवन बीमा कम्पनी छन् । गत आवमा उनीहरुको बीमाशुल्क संकलन एक अर्ब ८२ अर्ब २७ करोड ३३ लाख रुपैयाँरहेको छ । अघिल्लो आवमा भने उनीहरुले एक खर्ब ५६ अर्ब ५० करोड १२ लाख रुपैयाँबीमाशुल्क संकलन गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*