बन्दीपुर केवलकारको आईपीओ भोलिदेखि सर्वसाधारणलाई खुल्दै

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले पहिलो चरणको आईपीओ बाँडफाँड गरेसँगै भोलिदेखि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ खुला गर्दैछ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ मूल्यका दरले कुल ५८ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट गत असार २९ गते अनुमति पाएको थियो।
अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई ५ लाख ६६ हजार कित्ता र नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारीका लागि गएका नेपालीहरूलाई ५ लाख २९ हजार ४०० कित्ता आईपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ।
पहिलो चरणको आईपीओ बाँडफाँड सम्पन्न भएसँगै कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण समेतलाई आईपीओ खुला गर्न लागेको हो। कम्पनीले सामूहिक लगानी कोषलाई २ लाख ६४ हजार ७०० कित्ता र कम्पनीमा काम गरिरहेका कर्मचारीहरूका लागि १ लाख ५८ हजार ८२० कित्ता आईपीओ सुरक्षित गरी बाँकी बसेको ४३ लाख ४१ हजार ८० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो।
सर्वसाधारणले यो आईपीओ भर्दा कम्तीमा १० कित्ता र बढीमा २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। यसर्थ कम्तीमा १ हजार रुपैयाँ लाग्नेछ भने बढीमा २० लाख रुपैयाँ लाग्नेछ।
यो आईपीओमा भोलि बिहान १० बजेदेखि आवेदन दिन सकिनेछ भने निष्कासन बन्द छिटोमा भदौ १५ गते हुनेछ तर उक्त दिनसम्म माग गरे बमोजिम आवेदन नपरेको खण्डमा भने निष्कासन अवधि थपिएर भदौ २५ गतेसम्म खुल्ला रहनेछ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्गस नेपालले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गलेसमयमै वित्तीय दायित्व बहन गर्ने कम्पनीको क्षमतामा मध्यमस्तरको जोखिम रहेका संकेत गर्छ।
कम्पनीको आईपीओ निष्कासन तथा बाँडफाँड सम्बन्धी सम्पूर्ण काम नेपाल एसबआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ। बन्दीपुर केवलकार होटल तथा पर्यटन सेक्टरको कम्पनी हो।












