कालीगण्डकी गर्जको ५१% शेयर ग्रीन भेन्चर्सले खरिद गर्यो, प्रोजेक्टमा कुल ३९ अर्ब ५० करोड लगानी
११ भाद्र २०८२, बुधबार १२:४०

काठमाडौँ । ग्रीन भेन्चर्स लिमिटेडले कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीको बहुमत हिस्सेदारी खरिद गरेको छ । भदौ १० गते मंगलबार सम्पन्न सम्झौतामार्फत ग्रीन भेन्चर्सले कालीगण्डकी गर्ज हाईड्रोपावरको ५१ प्रतिशत संस्थापक शेयर खरिद गरेको हो ।
कालीगण्डकी गर्ज हाईड्रोपावर कम्पनीले म्याग्दी र मुस्ताङ्ग जिल्लास्थित कालीगण्डकी नदीमा १८० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्दै आएको छ । यस आयोजनाले विद्युत उत्पादनको अनुमति प्राप्त गरिसकेको छ ।
आयोजनाको कुल लागत अनुमानित ३९ अर्ब ५० करोड रुपैयाँ रहने छ । उक्त लागत व्यवस्थापनका लागि ऋण तथा स्वपूँजीको अनुपात ७५ः२५ प्रतिशत रहेको छ । परियोजनामा लक्ष्मी सनराईज बैंकको नेतृत्वमा विभिन्न बैंकहरुले सह-वित्तीय व्यवस्थापन गरेका छन् ।













