बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान, आवेदन शुल्क ७५००

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नेपाल सरकार समक्ष सिफारिस गर्न ७ दिनको मिति राखेर सार्वजनिक सूचना जारी गरेको छ । सूचना अनुसार कानुन बमोजिम योग्यता पुगेका सबैले आवेदन दिन पाउनेछन् ।
अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखालाई सम्पर्क कार्यालय बनाएर अध्यक्ष छनौट समितिले शनिबार सूचना प्रकाशन गरी बीमा प्राधिकरणको अध्यक्ष बन्न चाहनेहरुलाई योग्यता खुल्ने प्रमाण, कार्ययोजना सहित सात दिन भित्र आवेदन दिन आग्रह गरेको हो ।
खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गरिने भएकोले देहायको योग्यता भएका इच्छुक नेपाली नागरिकबाट प्रथमपटक प्रकाशित भएको सात दिनभित्र कार्यालय समयमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौँमा गोप्य खामबन्दी आवेदन दिन सूचनामा भनिएको छ ।
इच्छुक आवेदकलाई ७ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गर्ने निर्णय गरेको छ । छनौट समितिले आवेदकहरुलाई राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गर्न समेत आग्रह गरेको छ ।
भदौ २ गते बसेको मन्त्रिपरिपरिषद् बैठकले प्राधिकरणका अध्यक्ष शरद ओझालाई खबर्खास्त गरेपछि सो रिक्त रहेको थियो ।
यही भदौ ९ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको थियो । जसमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा खोमराज खरेल रहेको अध्यक्ष छनौट समिति गठन गरेको थियो ।














