आईपीओको खेती बन्द होस्, उत्पादन र बजार विस्तार नभएसम्म मार्केटमा प्रवेश गर्न दिँदैन: अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले जस्तो सुकै कम्पनीको आईपीओ स्वीकृत नहुने बताएका छन् । आज लगानीकर्ताका २२ बुँदे मागको जवाफ दिदै उनले भने, ‘आईपीओ पुँजी संकलनको लागि आवश्यक छ, तर यो प्रक्रिया सहज छैन । अहिले ‘आईपीओ–आईपीओ’ मात्र भन्ने धेरै कुरा सुन्न पाइन्छ । तर तेति सजिलो आईपीओ चाहि आउने हुँदैन आउनु हुँदा पनि हुँदैन म आउन पनि दिँदैन ।’
अध्यक्ष श्रेष्ठले आईपीओमा आउने कम्पनी उत्पादन र प्रोडक्टमा जोड दिनुपर्ने बताए । उनले भने, ‘कुनै पनि कम्पनीले आईपीओ आउँदा प्राथमिकता आफ्नो उत्पादन र बजार विस्तारमा दिनुपर्छ । उत्पादन बेचेर नाफा कमाउने र लगानीकर्तालाई रिटर्न दिने प्रक्रिया हो ।होटल व्यवसायीहरुले पनि यही प्राथमिकता राख्नु पर्छ । तर हाल धेरैको ध्यान शेयर बजारबाट कमाउनतिर केन्द्रित छ, यो स्वीकार्य छैन।’
आफु बोर्डका आएदेखि नै लगानीकर्ताका हितका लागि काम कारबाही अघि बढाइरहेको अध्यक्ष श्रेष्ठको तर्क छ । ‘लगानीकर्ताका सुझाव र आवाजहरुलाई मैले सकारात्मक रुपमा नै अग्रण गर्दछु। म बोर्डमा आएदेखि नै सकारात्मक कदमहरु चाल्ने प्रयास गर्दै आइरहेको छु। म पनि उहाँहरु जस्तै पृष्ठभूमिको व्यक्ति हुँ। लगानीकर्ता र कम्पनीहरुको सबै भावना मैले बुझेको छु।’, उनले थपे, ‘बोर्डको कुर्चिमा बसेपछि आफ्नो जिम्मेवारी मुख्यतः लगानीकर्ताका हितमा सञ्चालन गरेको छु। बजारको दीगो विकासका लागि धेरै काम गर्नुपर्ने छ। आईपीओ भनेको यसको एउटा पाटो मात्र हो। मैले आउँदो दिनमा बजारमा नयाँ प्रविधि ल्याउनु पर्ने कुरामा जोड दिएको छु र त्यही अनुसार काम गर्दै आइरहेको छु।’
बोर्डका कुनै पनि काम अल्झिने नभइ अहिले फास्ट ट्र्याकबाट काम भइरहेको अध्यक्ष श्रेष्ठको दाबी छ । श्रेष्ठले भने, ‘हामीले रहेका कामहरू फास्ट ट्र्याकमा अघि बढाइरहेका छौं। नीतिगत रूपमा काम छिटो गर्नेतिर हाम्रो ध्यान केन्द्रित छ। लगानीकर्ताको मुख्य विषय आईपीओ नै हो। म आउनु अघि कम्पनीहरुको आईपीओ पाइपलाइन रोकिएको थियो। मेरो पहिलो प्राथमिकता भनेको दोस्रो बजार हो। साना लगानीकर्ताले भोक्नु पर्ने समस्या समाधान गर्नु जरुरी छ।’
प्रि आईपीओको विषयमा समेत बोर्ड चनाखो रहेको र त्यो सम्बन्धी काम भइरहेको उनले बताए । ‘अब देखिएको समस्या भनेको शेयर बजारमा कतै चलखेल भयो भन्ने हो। त्यसलाई निरन्तर गर्ने दिशा तिर हाम्रो जिम्मेवारी छ। अहिले नयाँ विषय प्रि–आईपीओ बनेको छ। प्रि–आईपीओ गलत होइन, विदेशमा कानुनसंगत नै काम भइरहेको छ। तर नेपालमा कम्पनी सञ्चालकभन्दा एक समूहले यस्तो काम गरिरहेको देखिन्छ। त्यसलाई नियमन गर्ने विषयमा हामी काम गर्दैछौं। सबै कम्पनीहरुको गतिविधि हामीले हेरिरहेका छौं र यस विषयमा सचेत छौं’ अध्यक्ष श्रेष्ठले भने ।
उनले ब्रोकरहरुको नियामावलीमा हालै गरिएको संशोधनको उल्लेख गर्दै भने, ‘यस नियामावलीले बजारमा धेरै गुणात्मक सुधार ल्याउने अपेक्षा राखेका छौं। सानो–सानो कुराले शेयर बजारलाई प्रभावित गरिरहेको छ। यसमा सबै पक्षको भुमिका हुनुपर्छ। सबै पक्ष सुधारतिर लाग्नुपर्छ र लगानीकर्ताको मनोबल बढाउन काम गर्नु पर्छ।’
अन्तिम मिनेटमा हुने चलखेल रोक्न बोर्ड र नेप्सेले संयुक्त रुपमा अन्तिम १५ मिनेट नीति लागू गरेको जानकारी दिए । श्रेष्ठले भने, ‘यो नीति बजारलाई दिगो बनाउनका लागि ल्याइएको हो। यसको प्रयोगमा आएपछि केही समस्या देखियो, त्यसको अध्ययन समिति बनाइसक्यौं। प्रतिवेदन आएपछि लगानीकर्ताका हितका लागि आवश्यक परिमार्जन गर्ने निर्णय गर्नेछौं। धितोपत्र बोर्डको मुख्य ध्यान सधैं लगानीकर्ताको हितमा रहन्छ।’
श्रेष्ठले लगानीकर्ता र बोर्डबीचको सहकार्यलाई पनि जोड दिए । उनले भने, ‘बजारले मागेका समस्या समाधान हुन्छन्। नयाँ समस्या आउँछ भने हामी त्यसको समाधान गर्छौं। लगानीकर्ता र बोर्डको सहकार्य नै पुँजी बजारलाई व्यवस्थित, अनुशासीत र दिगो बनाउनका लागि महत्वपूर्ण छ। हकप्रद शेयरमा देखिएका समस्याका लागि पनि सुझाव आइरहेका छन् र हामी त्यसमा काम गरिरहेका छौं।’
हकप्रद शेयरमा देखिएको समस्याका लागि पनि बोर्डले काम गरिरहेको उनले बताए । बोर्डको ध्यान बजार दिगो, बेथितिमुक्त र अनुशासित बनाउनु रहेको बताउँदै अध्यक्ष श्रेष्ठले हरेक काम लगानीकर्ता हितका लागि हुने तर्क राखे ।












