राताम्य पुँजी बजारः चलखेलको भुमरीमा लगानीकर्ता, लगानी बन्दै बालुवामा पानी!

२३ भाद्र २०८२, सोमबार १५:०७

काठमाडौँ । शेयर बजार आज पनि लगातार ओरालो यात्रा जारी रहँदा लगानीकर्ताले करोडौं रकम गुमाएका छन्। बजारमा निरन्तर गिरावटले नकारात्मक वातावरण सिर्जना गरेको छ। दशैं नजिकिँदै गर्दा आवश्यक खर्चका लागि नगद प्रवाह जुटाउने उद्देश्यले लगानीकर्ता बेचबिखनमा सक्रिय बनेका कारण बजारमा दबाब बढिरहेको विश्लेषकहरूले बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्ने सिजन सुरु भए पनि यस वर्ष बजारले सकारात्मक लय समाउन सकेको छैन । विगतमा लाभांश सिजनले बजारमा हरियाली ल्याउने गरेको भए पनि यस वर्ष लगातार राताम्य अवस्थामा रहेको छ । यसले लगानीकर्ताको मनोबल कमजोर भएको छ र बजारमा बेचबिखन बढाएको छ ।

विश्लेषकहरूका अनुसार बजारमा संरचनागत कमजोरी, नियामकीय अनियमितता र सानो समूहको चलखेलले स्थायी रूपमा दबाब बढाउने मुख्य कारण बनेको छ। दीर्घकालीन लगानीकर्ताले जोखिम मूल्याङ्कन गर्दै आफ्नो लगानी योजना पुनः समीक्षा गर्नुपर्ने अवस्था आएको छ । आगामी दिनमा पनि बजारमा उतारचढाव रहने देखिएकाले लगानीकर्ताले सतर्क रहनुपर्ने विश्लेषकहरूले सुझाव दिएका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.१५ अकंले घटेर २६७५.०९ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड १७ लाख १४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन १३ उपसूचक राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.९९ प्रतिशत, विकास बैंक समूहको १.२३ प्रतिशत, फाइनान्स समूहको ०.८० प्रतिशतले शेयर मूल्य घटेको छ ।

सोमबार २२ कम्पनीको शेयर बढ्दा २२९ कम्पनीको घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*