आन्दोलन साम्यपछि खुल्दै नेप्से, दशैंअघि लगानीकर्तामा उत्साह कि राताम्यको डर ?

३० भाद्र २०८२, सोमबार १७:४८

काठमाडौँ ।  जेनजी आन्दोलनको कारण गत भदौ २४ गतेदेखि बन्द भएको शेयर बजार अब आउने बुधवारदेखि खुल्ने तयारी भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुधवारदेखि कारोबार सुरु गर्ने गरी तयारी भइरहेको जनाएको छ। तर, यसबारे अन्तिम निर्णयका लागि धितोपत्र बोर्डको निर्देशन आउन बाँकी रहेको पनि प्रष्ट पारेको छ। यसअघि बोर्डकै निर्देशनमा नेप्सेले शेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो। सुरुमा भदौ २४ र २५ गते मात्र दुई दिन बन्द गर्ने भनिएपनि, पछि थप एक साताको लागि असोज २ गतेसम्म कारोबार स्थगित गरिएको थियो।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा (१) खण्ड (घ) अनुसार ‘धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्मका लागि धितोपत्र बजार बन्द गर्न आदेश दिने’ प्रावधान छ। त्यही प्रावधानलाई आधार बनाएर बजार बन्द गरिएको थियो। तर, अहिले अवस्था सहज हुँदै गएपछि, दशैं नजिकिँदै गरेको र लगानीकर्ताहरूको दबाबलाई मध्यनजर गर्दै बजार खुल्ने तयारी गरिएको हो। लगानीकर्ताले दशैंअघि शेयर बेचेर खर्च जुटाउन चाहने भए पनि कारोबार बन्द हुँदा पैसा पाउन नसक्ने अवस्था सिर्जना भएको थियो। यसले दशैं खर्च व्यवस्थापनमा कठिनाई बढाएपछि बजार खोल्न दबाब चुलिएको हो।

यद्यपि मुलुकको राजनीतिक वातावरण अझै पूर्ण रूपमा स्थिर भइसकेको छैन। लामो समयसम्म प्रभाव जमाएका दलहरूले शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारलाई संविधानविरोधी भन्दै आलोचना गरिरहेका छन्। यसले निकट भविष्यमा फेरि राजनीतिक प्रतिवाद उत्पन्न हुने आशंका बढाएको छ। अर्कोतर्फ, जेन जी आन्दोलनमा संलग्न समूहहरूकै बीचमा विभाजन देखिन थालेको छ, जसले गर्दा सरकारले फागुनमा तोकिएको चुनाव समयमै गराउने वा नगराउने भन्ने प्रश्न अझै अनुत्तरित छ।

यसबीच, नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले सोमबार पदभार ग्रहण गरेका छन्। लगानीकर्ताको ध्यान अहिले उनको नीतितर्फ केन्द्रित भएको छ। यसअघि अर्थमन्त्री विष्णु पौडेललाई लगानीकर्ताले शेयरमैत्री मन्त्रीका रूपमा चिनेका थिए। तर, खनालले पुँजी बजारलाई कस्तो प्राथमिकता दिने भन्ने अन्योल छ। बजार सुधारका लागि धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीचको घनिष्ठ समन्वय अपरिहार्य हुन्छ। तर विगतमा यी निकायका नेतृत्व राजनीतिक भागबन्डाबाट चयन हुने गरेकोले अब स्वतन्त्र पृष्ठभूमिबाट आएका खनालले कस्तो समन्वय गर्ने हुन् भन्नेप्रति उत्सुकता बढेको छ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री पौडेलले शेयर बजारलाई अर्थतन्त्रको ऐना भन्दै विशेष प्राथमिकता दिएका थिए। तर अहिले स्वतन्त्र व्यक्तिको नेतृत्वमा बनेको सरकारको दृष्टिकोण अझै स्पष्ट छैन। यसैबीच लगानीकर्ताले आफ्ना लगानी बालुवामा पानी खन्याए जस्तो हुने चिन्ता व्यक्त गरेका छन्। त्यसमाथि, जेन जी आन्दोलनकै क्रममा सूचीकृत विभिन्न कम्पनीमा क्षति पुगेको तथ्यले बजारमा नकारात्मक प्रभाव पारेको छ। बैंकका ६८ शाखा तोडफोडमा परेका छन् भने अन्य क्षेत्रका कम्पनीमा समेत क्षति पुगेको विवरणले बजार अझै घट्ने संकेत दिएको छ।

तर सबै लगानीकर्ता निराश छैनन्। कतिपयले अब बजारमा सुधार आउने आशा राखेका छन्। उनीहरूले यसअघि खनालकै नेतृत्वमा बनेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई आधार बनाएका छन्। ओली सरकारको पालामा खनाललाई उक्त आयोगको संयोजक बनाइएको थियो। २०८१ चैत २९ मा बुझाइएको प्रतिवेदनमा पुँजी बजारको वर्तमान अवस्था र सुधारका उपायबारे स्पष्ट सुझाव दिइएको छ। प्रतिवेदनले पुँजी बजारलाई बैंकको विकल्पका रूपमा पुँजी परिचालन गर्ने सशक्त माध्यम बताएको छ।

प्रतिवेदनले पुँजी बजार अझै अपूर्ण अवस्थामा रहेको, उत्पादनमूलक कम्पनीहरूको प्रवेश न्यून भएको, डेरिभेटिभ र वस्तु विनिमय बजार सुरु नभएको उल्लेख गरेको छ। प्रिमियम र बुक बिल्डिङ प्रक्रियामार्फत उत्पादनमूलक कम्पनीलाई पुँजी बजारमा ल्याउने प्रयास विवादमा फस्नु, केही स्वार्थी समूहले लगानीकर्ताको उत्साहको दुरुपयोग गर्ने जोखिम बढ्नुजस्ता समस्या प्रतिवेदनमा औंल्याइएको छ। तर त्यही प्रतिवेदनले ठूला कम्पनीलाई बजारमार्फत वित्तीय साधन परिचालन गर्न प्रेरित गर्नुपर्ने, यसले दीर्घकालीन र सस्तो लागतमा स्रोत जुटाउन मद्दत गर्ने सुझाव दिएको छ।

बाह्य पुँजी प्रवाहका उपाय खोज्नु, गैर आवासीय नेपालीलाई प्राथमिक र दोस्रो बजारमा सहज पहुँच दिनु, त्यसबाट नेपालमा वित्तीय साधन ल्याउनु र विदेशी ज्ञान तथा नेटवर्कलाई उपयोग गरी आर्थिक गतिविधि फस्टाउनु भन्ने विषयलाई प्रतिवेदनले विशेष प्राथमिकता दिएको छ। तर त्यहीबेला बाह्य पुँजी अल्पकालीन रूपमा ठूलो मात्रामा आउँदा वा बाहिरिँदा वित्तीय स्थायीत्वमा नकारात्मक असर नपार्ने व्यवस्था गर्नुपर्ने सुझाव पनि दिइएको छ।

खनालको संयोजकत्वमा आएको प्रतिवेदनले पुँजी बजार सुधारको लागि स्पष्ट दिशानिर्देश दिएको छ। अब उनी अर्थमन्त्री बनेपछि ती सुझावलाई व्यवहारमा उतार्ने हो भने लगानीकर्ताले दीर्घकालीन सुधार देख्न सक्नेछन्। तर तत्काललाई भने राजनीतिक अनिश्चितता, आन्दोलनका प्रभाव र लगानीकर्ताको बेच्ने दबाबका कारण बजार राताम्य हुने अपेक्षा गरिएको छ। दशैं र तिहार नजिकिँदै गर्दा धेरैले शेयर बेचेर रकम जुटाउने सम्भावना उच्च देखिएको छ।

यसरी हेर्दा बुधवारदेखि खुल्ने नेप्से बजार लगानीकर्ताको भावनाले कता मोड लिन्छ भन्नेप्रति सबैको आँखा केन्द्रित छ। छोटो अवधिमा उतारचढाव देखिए पनि दीर्घकालमा सुधार सम्भव छ भन्ने विश्वास गर्नेहरू पनि छन्। तर, वर्तमानमा लगानीकर्ताले अझै पनि अनिश्चितताका बीच आफ्नो पुँजी सुरक्षित राख्ने वा जोखिम लिनु भन्ने दुविधासँगै कारोबार सुरु गर्नुपर्ने देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*