जेन–जी आन्दोलनपछि आजदेखि खुल्दै पुँजी बजार

२ आश्विन २०८२, बिहीबार ०८:११

काठमाडौं । एक साताभन्दा बढी बन्द रहेको पुँजी बजार आज अर्थात असोज २ गतेदेखि फेरि सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनको कारण गत भदौ २४ गतेदेखि रोकिएको बजारलाई फेरि खोल्ने तयारी भएको हो ।

तर, बजार खुल्दैमा लगानीकर्तामा खुशी छाएको छैन । बरु उनीहरू राताम्यको त्रासले ग्रस्त भएका छन् । राजनीतिक अस्थिरता, आन्दोलनको प्रतिफलस्वरूप कम्पनीहरूमा परेको भौतिक क्षति र दशैं नजिकिँदै गर्दा बेच्ने दबाब तीव्र हुन सक्ने अनुमानले बजार राताम्य हुने अपेक्षा उच्च बनेको छ ।

दशैं जस्तो ठूलो पर्वमा खर्च जुटाउनकै लागि धेरैले शेयर बेच्ने तयारी गरे पनि कारोबार बन्द हुँदा रकम हातमा आउन सकेको थिएन । यसले परिवारको खर्च व्यवस्थापनदेखि यात्रा, किनमेल, चाडपर्व तयारीमा उनीहरूलाई असुविधा भएको थियो । अब बजार खुलेपछि तत्काल बेच्ने मनसाय बढ्ने भएकाले राताम्य हुने सम्भावना थप चुलिएको छ ।

यद्यपि, राताम्य केवल बेच्ने दबाबका कारण मात्र होइन । मुलुकको राजनीतिक परिवेश अझै स्पष्ट नभएको, पुराना दलहरूको विरोध आन्दोलन जारी रहने संकेत, जेनजी आन्दोलनभित्रकै विभाजन र नवनियुक्त अर्थमन्त्रीको नीति प्रति लगानीकर्तामा अन्योलले पनि बजारलाई राताम्यतर्फ धकेल्ने देखिन्छ ।

शेयर बजार लामो समयदेखि अर्थतन्त्रको नाजुक अवस्थासँग जोडिएको छ । अघिल्ला प्रधानमन्त्री र अर्थमन्त्रीले यसलाई अर्थतन्त्रको ऐना भनेर प्राथमिकता दिएका थिए । तर अहिले स्वतन्त्र व्यक्तिको नेतृत्वमा बनेको अन्तरिम सरकार छ, जसको दृष्टिकोण अझै स्पष्ट छैन । त्यसैले बजार खुलेपनि भविष्य के हुन्छ भन्ने चिन्ता बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*