अनिश्चित बाटोमा पुँजी बजारः ३ पटक ऋणात्मक सर्किट लाग्दा कारोबार बन्द, लगानीकर्ताको डुब्यो अर्बौं लगानी

२ आश्विन २०८२, बिहीबार १२:१३

काठमाडौँ । जेन जी आन्दोलनले एक सातापछि खुलेको शेयर बजारमा लगातार तेस्रो पटक ऋणात्मक सर्किट लागेपछि आजका लागि बन्द भएको छ । सरकारमा नयाँ समिकरण र दशैंको बिक्री दबाबकाबीच बजार पहिरो गएको हो ।

बजार खुलेको २ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घटेर २५६५.२१ बिन्दुमा पुगेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि बजार ११ः२२ मा खुलेको थियो । तर, खुलेको १ मिनेटमै शेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको थियो ।

त्यसपछि ४० मिनेट बन्द भएर कारोबार खुलेको पुनः १ मिनेटमै अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशतले बढेर तेस्रो सर्किट ब्रेक लागेपछि आजका लागि कारोबार बन्द भएको हो ।

बिहिबार शेयर बजारको परिसूचक नेप्से १६०.३३ अंक घटेर २५११.९१ अंकमा कायम भएको छ । आज २३८ कम्पनीको १७ लाख ५२ हजार कित्ता शेयर किनबेच हुँदा ७२ करोड ८७ लाख २ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ९ कम्पनीको शेयर मूल्य बढेको छ भने २१७ कम्पनीको घटेको छ । सबै उपसूचकमा भारी गिरावट देखिएको छ ।

शेयरबजारमा एक घण्टाअघि ४ प्रतिशतले घट्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले घट्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले घटेमा दिनभरीको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।

मौद्रिक नीति यता बजार ३००० बिन्दुमा पुगेको थियो । सो समयमा धेरैले ३२०० माथि जाने अपेक्षा गरेर शेयर खरिद गरेका थिए । तर, त्यसयता बजार निरन्तर ओरालो यात्रामा लागि परेको छ । जस कारण सो समयमा शेयर खरिद गर्नेहरुको लगानी बालुवामा पानि झै भएको छ ।

जेन जी आन्दोलनले राजनीतिक अस्थिरता, आन्दोलनको प्रतिफलस्वरूप कम्पनीहरूमा परेको भौतिक क्षति र दशैं नजिकिँदै गर्दा बेच्ने दबाब तीव्र हुँदा बजारमा पहिरो गएको हो । दशैं जस्तो ठूलो पर्वमा खर्च जुटाउनकै लागि धेरैले शेयर बेच्ने गर्छन् । बजार खुले लगत्तै बजारमा बिक्री तिर हाबी हुँदा तेस्रो पटक ऋणत्मक सर्किट लागेको हो ।

मुलुकको राजनीतिक परिवेश अझै स्पष्ट नभएको, पुराना दलहरूको विरोध आन्दोलन जारी रहने संकेत, जेनजी आन्दोलनभित्रकै विभाजन र नवनियुक्त अर्थमन्त्रीको नीति प्रति लगानीकर्तामा अन्योलले पनि बजारलाई राताम्यतर्फ धकेलेको देखिन्छ । अघिल्ला प्रधानमन्त्री र अर्थमन्त्रीले यसलाई अर्थतन्त्रको ऐना भनेर प्राथमिकता दिएका थिए । तर अहिले स्वतन्त्र व्यक्तिको नेतृत्वमा बनेको अन्तरिम सरकार छ, जसको दृष्टिकोण अझै स्पष्ट छैन । त्यसैले बजार अनिश्चित बाटो तिर मोडिएको छ ।

शेयर बजारको भविष्य केवल आर्थिक नीतिबाट मात्र होइन राजनीतिक स्थायीत्वसँग पनि गाँसिएको हुन्छ । अहिले मुलुकमा स्वतन्त्र नेतृत्वको सरकार गठन भए पनि पुराना दलहरूले त्यसलाई संविधानविरोधी भन्दै आलोचना गरिरहेका छन् । उनीहरूले अदालतसम्म जाने चेतावनी दिएका छन् । यस्तो अवस्थामा सरकारको दीर्घकालीन भविष्य अनिश्चित देखिएको छ । जसले गर्दा लगानीकर्ताको मनोबल थप कमजोर बनेको देखिएको छ ।

अब बजार आइतबार असोज ५ गते खुल्नेछ । बजार खुलेपनि राताम्य यात्राले निरन्तरता पाउने धेरैको आशंका कामय नै रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*