काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा तोडफोडका कारण आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा करिब डेढ अर्ब रुपैयाँ बराबरको बीमा दाबी परेपछि कम्पनीको शेयर मूल्यमा भारी गिरावट देखिएको छ । आन्दोलनका क्रममा भएको क्षतिको आधारमा २४ वटा दावी बापत कुल १ अर्ब ५९ करोड ६ लाख रुपैयाँको दाबी कम्पनीमा पुगेको हो ।
बजारमा यो समाचार सार्वजनिक भएसँगै आज नेप्से सूचक लगातार तेस्रो दिन नकारात्मक सर्किटमा गएर बन्द भएको छ । करिब ४ मिनेट मात्रै कारोबार भएको बजारमा आइजिआई प्रुडेन्सियलको शेयर मूल्यमा उल्लेख्य गिरावट आएको हो ।
बिहीबारको कारोबारमा कम्पनीको शेयर मूल्य नकारात्मक सर्किट लागेर प्रतिकित्ता ५१ रुपैयाँ ४२ पैसा घटेर ४६३ रुपैयाँमा सीमित भएको छ । सो अवधिमा ७२२ कित्ता बराबरको ३ लाख ४८ हजार ९५६ रुपैयाँको कारोबार मात्र भएको छ ।
उच्च बीमा दाबीले कम्पनीको वित्तीय अवस्था र भावी लाभांश वितरण क्षमताबारे अनिश्चितता बढाएपछि लगानीकर्तामा त्रास फैलिएको छ । धेरै लगानीकर्ताले महङ्गो मूल्यमा किनेका शेयर घाटा स्वीकार्दै सस्तोमै बिक्री गर्ने रणनीति लिएका छन् । यसका कारण बजारमा कम्पनीका लगानीकर्ता ठुलो रकम गुमाइरहेका छन् ।
बीमा कम्पनीमा परेको यति ठूलो दाबीले आगामी त्रैमासिक वित्तीय नतिजामा नकारात्मक असर पार्ने देखिएको छ । यसै कारण लगानीकर्ताले कम्पनीको शेयरप्रति विश्वास कम गरेका छन् भने छोटो अवधिमा मूल्य पुनः उकालो लाग्ने सम्भावना न्यून रहेको बताइएको छ ।














