१५ मिनेटको नियम खारेजसहित लगानीकर्ताले राखे ४ बुँदे माग, सम्बोधन नभए बजार अस्वीकार गर्ने!

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकलाई आम लगानीकर्ताहरूले बजार सञ्चालन अघि सुधार गर्नुपर्ने मागसहित निवेदन दिएका छन्। लामो समयदेखि लगानीकर्ताको विश्वास गुमाउँदै आएको शेयर बजारलाई तरलता अभाव, अव्यवहारिक नियम र अनावश्यक प्रतिबन्धका कारण थप समस्या उत्पन्न भएको भन्दै लगानीकर्ताले तत्काल सुधारका कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका हुन्।
निवेदनमा हाल कायम राजनीतिक सङ्कट र आर्थिक असन्तुलनलाई समेत उल्लेख गर्दै बजार सञ्चालन अघि अनिवार्य रूपमा चार बुँदामा ध्यान दिन माग गरिएको छ। १५ मिनेटको नियम खारेज गर्दै अन्तिम कारोबार मूल्य समायोजन प्रक्रिया तुरुन्तै बन्द गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई बिना रोकटोक स्वतन्त्र रूपमा दोस्रो बजारमा लगानी गर्न दिने वातावरण बनाउनुपर्ने माग गरिएको छ।
लगानीकर्ताका लागि तोकिएको २५ करोडको सीमा हटाई बजारअनुकूल स्वतन्त्र लगानी गर्न पाउने व्यवस्था मिलाउनुपर्ने र कर्मचारीलाई दिने बोनस सुविधा नगदसँगै शेयरको रूपमा पनि वितरण गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गरिएको छ।
लगानीकर्ताले माथि उल्लेखित मागहरू तत्काल कार्यान्वयन नगरी बजार सञ्चालन गरिएमा अस्वीकार गर्ने चेतावनी दिएका छन्।














