शेयर बजार क्र्यास हुनुमा बीमा क्षेत्र नै मुख्य कारक, नयाँ अर्थमन्त्रीलाई नपत्याएको कुरा कति सत्य ?

काठमाडौँ । जेन जी आन्दोलनका कारण बन्द भएको शेयर बजार ९ दिन पहिलो आज खुल्यो । तर, प्रि ओपनिङ सेसनमै ३४ अंकले घटेको शेयर बजार दुई मिनेटमै सर्किट ब्र्रेक लागेर बन्द हुन पुग्यो । यसो हुनुमा बीमा समुह मुख्य रुपमा जिम्मेवार रहे । जेन जी आन्दोलनमा पुगेको क्षतिको बीमा दावी २० अर्बभन्दा बढि परेको र सोको सम्पूर्ण भार बीमा कम्पनीहरुमा परेको नकारात्मक हल्लाका कारण शेयर बजारले धैर्यता गुमाउँदै क्र्यास हुन पुगेको हो ।
लगातार तेस्रो पटक बजारमा नकारात्मक सर्किट लाग्दा आज बजार करिब पाँच मिनेट मात्रै चलेर बन्द भएको हो । आज मात्र बजार ६ प्रतिशत अर्थात् १६०.३३ अंकले घटेर २५११.९१ बिन्दुमा झरेको छ ।
यस पटक बजारको ठूलो गिरावटमा बीमा कम्पनी मुख्य जिम्मेवार रहेको छ । भदौ २३ र २४ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनका कारण भएका क्षतिको बीमा दाबी २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ पुगेको छ । यस्तो दावी अझै १० अर्बभन्दा बढिको पर्ने र त्यसले नेपालका दुई ठूला पुनर्बीमा, १४ वटा बीमा र तीन वटा निर्जीवन बीमा कम्पनीहरु प्रभावित हुने अनावश्यक हल्ला चल्यो । जसको परिणाम १३ अर्ब ११ अर्ब चुक्ता पुँजि भएका दुई ठूला पुनर्बीमा कम्पनीको मूल्यमा नकारात्मक सर्किट लाग्न पुग्यो । यसको प्रत्यक्ष असर नेप्सेमा पर्यो । साथै अन्य आठ वटा बीमा कम्पनीहरुको शेयर पनि नकारात्मक सर्किट लाग्न पुग्यो । आज सबै बीमा कम्पनीहरुको शेयर मूल्यमा गिरावट आएको छ । यति सम्मकी जेन जी आन्दोलनले प्रभावित नै नहुने जीवन बीमा कम्पनीहरुको समेत शेयर मूल्य घट्न पुग्यो ।
उच्च बीमा दावीले कम्पनीको नाफामा प्रभावित हुन गई लाभांश वितरण क्षमतालाई समेत ठुलो असर गर्ने भएकाले लगानीकर्ताले आफ्नो पूँजी गुम्ने डर गरेका छन् । धेरै लगानीकर्ताले महँगो मूल्यमा किनेका बीमा कम्पनीका शेयर घाटा खाएर सस्तोमा बिक्री गरिरहेको देखिन आएको छ । यसले बजारमा झनै दबाब सिर्जना गरेको छ । यसै कारण हाल बजारमा देखिएको गिरावटलाई बीमा क्षेत्रमा परेको भारसँग प्रत्यक्ष जोडिएको छ ।
आज कारोबारमा आएका १२ वटा निर्जीवन बीमा कम्पनीको शेयर मूल्यमा एकैपटक ठूलो गिरावट देखिएको छ । निर्जीवन बीमा कम्पनीहरूको सूचकांक मात्र आज ६५६.०५ अंकले घटेर ११४३२.६८ बिन्दुमा झरेको छ ।
भ्रम र यथार्थ के हो ?
बीमा कम्पनीहरुले जोखिम धारण गर्ने वित्तिकै त्यसको पुनर्बीमा र रेट्रोशेसन गरिएको हुन्छ । बीमाको सिद्धान्तभित्रै पर्ने भएकोले नेपालका दुई ठूला पुनर्बीमा कम्पनीहरु जोखिममुक्त छन् । यतिसम्मकी नेपाल पुनर्बीमा कम्पननीमा २३ अर्ब बीमा दावी परेको भन्दै झुठो हल्ला समेत फैलाइयो । तर, यथार्थ जम्मा नौ अर्ब मात्रै बीमा परेको अवस्था छ । सो नौ अर्ब रुपैयाँको पनि विदेशी पुनर्बीमा कम्पनीमा पुनर्बीमा गरिएको हुँदा नेपाल पुनर्बीमा कम्पनी सुरक्षित रहेको सो कम्पनीका डेपुटी सिईओ दामोदर भण्डारीको दावी छ । त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका सिईओ बीरेन्द्र बैदावारले पनि आफूहरुको भागमा परेको बीमाको पुनर्बीमा गरिएकोले ठूलो जोखिम नभएको बताउँछन् । आईजिआई सहितका केही बीमा कम्पनीहरुले पनि धेरै मुनाफा खाने लोभमा पुनर्बीमा नगरेकोले अप्ठेरो अवस्था सामना गर्नुपर्ने हुनसक्दछ ।
दशैंको समयको प्रेसर
नौ दिनदेखि बन्द रहेको शेयर बजारमा दशैंको समयमा शेयर बिक्री गर्नैपर्ने दवावका कारण पनि आज भारी मात्रामा शेयर बजारमा पहिरो गएको देखिन आएको छ । कतिपयले ब्याज तिर्नको लागि समेत शेयर बिक्री गर्न हतारिएको कारण आजको अवस्था आएको शेयर बजार विश्लेषकहरुका बीचमा चर्चा चलिरहेको छ ।
दशैंको समयमा शेयर बिक्री गरेर खर्च निकाल्नुपर्ने भएकोले लगानीकर्ताहरुको मानसिक दवावमा देखिएका छन् । यसअघि आफूसँग भएको सबै रकमको शेयर खरिद गरेर कारोबार गरेकाहरुले दशैं खर्च यही शेयर बजारबाट निकाल्नुपर्ने भएकोले हजारौं शेयर लगानीकर्ताहरुले दशैं अघि शेयर बिक्री गर्नै पर्ने बाध्यता छ । नेप्सेले टि प्लस २ अर्थात शेयर बिक्री गरेको दुई दिनपछि मात्रै ब्रोकर कम्पनीले भुक्तानी गर्ने हुँदा दशैं अघि सरकारी कार्यालय खुल्न अब धेरै दिन बाँकी छैन । शपिङ गर्नुपर्ने, घर जानुपर्ने आदि इत्यादि कारणले पनि आज चर्को दवाव बिक्रीमा परेको देखिन आउँछ ।
नयाँ सरकारलाई शेयर बजारको रातो झण्डा कति सत्य कति झूट ?
राजनीतिक अस्थिरता, जेन–जी आन्दोलनबाट आएको भौतिक क्षति, बीमा दावीको भार र दशैं नजिकिँदै गर्दा बजारमा बेच्ने दबाब बढेको भनेर चर्चा र हल्ला गरिएको छ । जुन कुरा पूर्णत :गलत हो । अहिलेको सरकार भ्रष्टाचार नगर्ने, सेटिङ नगर्ने, सुशासन कायम गर्ने दिशामा अघि बढ्ने भएकोले सरकारी नीतिका कारण शेयर मूल्य घटेको र जेन जी आन्दोलनले शेयर बजारलाई रातो झण्डा देखाएको कुरा सत्य होइन । साथै नयाँ अर्थमन्त्री रामेश्वर खनाललाई शेयर बजारले रिजेक्ट गरेको भन्दै बजारमा फैलाइएको अफवाह पनि सत्य होइन । खनाल अर्थमन्त्रालयमा लामो समय काम गरेका पूर्व सचिव हुन् । अर्थात उनी प्राविधिक अर्थमन्त्रीको रुपमा लिन सकिन्छ । शेयर बजारमा हुने मूल्यको उतार चढावबारे उनलाई राम्रै ज्ञान छ । यसअघि केपी ओली नेतृत्व सरकारले गठन गरेको अर्थतन्त्र सुधार आयोगमा रहेर काम गर्दा बुझाएको प्रतिवेदनमा शेयर बजारबारे अर्थमन्त्री खनालको सकारात्मक नै धारणा रहेको छ ।













