बीमा प्राधिकरणको अध्यक्षको कुर्सीमा एकै दिन दुई जना

काठमाडौं । नेपाल बीमा प्राधिकरणको इतिहासमा पहिलो पटक अध्यक्षको कुर्सीमा एकै दिन दुई जना बसेर काम गरेका छन् । अदालतबाट पुनर्बहाली भएको भन्दै हाजिर हुन पुगेका शरद ओझा र अर्थमन्त्रालयबाट अध्यक्ष तोकिएका सह सचिव सेवन्तक पोखरेल एकै दिन बीमा प्राधिकरणको चौथो तल्लामा रहेको अध्यक्षको कार्यकक्षस्थित कुर्सीमा बसेर काम गरेका हुन् ।
गत भदौं ३० अदालतबाट अल्पकालिन अन्तरिम आदेशपछि अध्यक्षको हैसियतले काम गर्न पुगेका ओझा आज विहान १० बजे नै कुपण्डोलस्थित बीमा प्राधिकरणको कार्यालयमा पुगेका थिए । उता, आजै अर्थमन्त्रालयले आफूलाई जानकारी नदिई गैर कानुनी व्यक्ति बीमा प्राधिकरणमा अध्यक्षको हैसियतमा काम गरेको भन्दै ओझालाई काम गर्न नदिन भन्दै बीमा प्राधिकरणलाई लिखित पत्राचार नै गरेको थियो ।
अर्थमन्त्रालयको लिखति निर्देशनसँगै करिब ३ बजेतिर ओझा अध्यक्षको कार्यकक्षबाट बाहिरिएका थिए । आजै ओझाले सबै बीमा कम्पनीका सिईओहरुलाई बोलाएर बैठक समेत राखेका थिए ।
ओझा बाहिरिएको करिब एक घण्टापछि अर्थमन्त्रालयले अध्यक्षको रुपमा नियुक्ती दिएर खटाएको सह सचिव सेवन्तक पोखरेल प्राधिकरण पुगेर अध्यक्षको मोर्चा सम्हालेका थिए । पोखरेल पनि प्राधिकरणण्कोे चौथो तल्लामा रहेको अध्यक्षको कार्यकक्षमा पुगेर निर्देशकहरुलाई सहभागी गराई बैठक राखेका थिए ।
बीमा प्राधिकरणका अनुसार बिहिवार ओझा र पोखरेल दुवै अध्यक्षले हाजिर गरेका छन् ।













