शेयर बजार सुधारमा अर्थ मन्त्रालयको चासो, विसंगति र समस्याको अध्ययनका लागि बनायो कार्यदल

काठमाडौँ । अर्थ मन्त्रालयले पुँजी बजारमा देखिएको विसंगति र समस्याको अध्ययन गरी आम लगानीकर्ताको मनोबल वृद्धि गर्ने उद्देश्यले कार्यदल गठन गरेको छ।
अर्थ मन्त्रालयको योजना, अनुगमन तथा मूल्यांकन महाशाखा मार्फत गठन गरिएको कार्यदलले बजारमा देखिएका प्रणालीगत र प्रक्रियागत चुनौतीहरूको विश्लेषण गरी पाँच दिनभित्र ठोस कार्यान्वयन योजना पेश गर्नुपर्ने भएको हो ।
कार्यदलको संयोजकको रूपमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक रुपेश केसी नियुक्त छन् भने सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका कार्यकारी निर्देशक निरन्जन फूयाँल रहेका छन्। कार्यदलको सदस्य सचिवको रूपमा अर्थ मन्त्रालयका उपसचिव शरद निरौला जिम्मेवारी सम्हाल्नेछन्।
कार्यदलले प्रस्तुत गर्ने योजना बजार नियमन, लगानीकर्ता संरक्षण, प्रविधि सुधार र वित्तीय जानकारीको पारदर्शिता सुनिश्चित गर्ने उपायहरू समावेश गर्ने छ। यस पहलले पुँजी बजारको दीगो विकास र आम लगानीकर्ताको हितमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।














