पुँजी बजारमा रौनकः कारोबार भने खुम्चियो, लगानीकर्ता चलखेलमा त फस्दै छैनन् ?

काठमाडौँ । शेयर बजारमा निरन्तर हरियाली देखिएको छ । आइतबार उच्च अंकले बढेको बजारले सोमबार पनि उही निरन्तरता कायम राखेको हो । बजार हरियाली आउँदा लगानीकर्तामा उत्साह छाएको छ । गत बिहिबार राताम्य भएर तीन पटक नकारात्मक सर्किट लागेर बन्द भएको बजार पछिल्ला दुई कारोबारमा भने उच्च बढ्दा लगानीकर्ता मख्ख भएका छन् ।
बजार बढ्नुलाई लगानीकर्ताले फरक–फरक दृष्टिकोणबाट हेरेका छन् । दशैं–तिहारको मुख्य सिजनमा बजारको उचाईलाई केहीले चलखेलको रूपमा लिएका छन् । यस समयमा धेरै लगानीकर्ताले दशैं खर्च र अन्य आवश्यकताका लागि शेयर बिक्री गर्नुपर्ने दबाव महसुस गर्छन् । कतिपयले ब्याज तिर्न वा तत्कालिक खर्च व्यवस्थापनका लागि पनि शेयर बिक्री गर्नुपर्ने अवस्था आउँछ । त्यसभन्दा बढि, देशमा राजनीतिक अस्थिरता अझै कायमै रहेको छ र सरकारले अघि सारेका नीतिहरूमा लगानीकर्ताको स्पष्ट विश्वास बन्न सकेको छैन ।
तर बजारमा आएको वृद्धि आंशिक रूपमा विश्वास बढाउने खालको पनि मानिएको छ। कतिपय लगानीकर्ताले सुधारलाई बजारमा लय कायम हुने संकेतको रूपमा लिएका छन्। यसले बजारमा उत्साहको वातावरण सिर्जना गरेको छ र लगानीकर्तामा सकारात्मक धारणा विकास गरेको देखिन्छ । अर्थमन्त्री रामेश्वर खनालले शेयर बजार सुधारका लागि बनाएको कार्यदलले बजारमा आएको उचाईमा भूमिका खेलेको बताएका छन् ।
विशेषतः १५ मिनेटको कारोबार सीमा खारेज भएपछि बजारमा थप रौनक र कारोबार बढेको बुझिएको छ । आगामी दिनमा यसले बजारको दिशा र लगानीकर्ताको विश्वासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । दिर्घकालीन रूपमा अर्थ मन्त्रालयका कदमहरू सकारात्मक भए पनि तत्काल उच्च वृद्धि लिनुपर्ने कुनै कारण नभएको विश्लेषकहरूले बताएका छन् । यस समयमा माफियाहरुको चलखेलबाट साना र अनुभवहीन लगानीकर्ताहरू फस्न सक्ने भएकाले सचेत रहनुपर्ने सुझाइएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.६३ अकंले बढेर २६८२.२५ बिन्दुमा कायम भएको छ । आज २२८ कम्पनीको १ करोड १३ लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २९ करोड २७ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक बढ्नेमा निर्जीवन बीमा कम्पनी रहेको छ । निर्जीवन बीमा समूहको ३.४८ प्रतिशतले बढेको हो । साथै, वाणिज्य बैंक समूहको १.३८ प्रतिशत, विकास बैंक समूहको २.९५ प्रतिशत, फाइनान्स समूहको २.१२ प्रतिशतसहित १३ वटै उपसूचकमा सुधार आएको हो ।

मंगलबार २३८ कम्पनीको शेयर मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ । यसदिन ८ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













