वार्षिक नवीकरण शुल्क नबुझाउने कम्पनीको सूचीकरण स्थगन गर्ने नेप्सेको चेतावनी, दियो समयसीमा

७ आश्विन २०८२, मंगलवार १५:५७

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क असोज मसान्तभित्र बुझाउन निर्देशन जारी गरेको छ। धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएको व्यवस्था अनुसार तोकिएको म्यादभित्र शुल्क बुझाउनुपर्ने उल्लेख गर्दै नेप्सेले अझै शुल्क नबुझाएका कम्पनीहरुलाई समयमै शुल्क बुझाउन आग्रह गरेको हो।

नेप्सेका अनुसार धितोपत्रको वार्षिक नवीकरण शुल्क चुक्ता पूँजी ५० करोडसम्म भएका कम्पनीले ५० हजार बुझाउनुपर्नेछ भने ५० करोडभन्दा माथिको चुक्ता पूँजी भएका कम्पनीले १ लाख बुझाउनुपर्नेछ।

त्यस्तै डिबेन्चर तथा म्युचुअल फण्डको हकमा चुक्ता पूँजी ५० करोडसम्म भएका कम्पनीले २५ हजार बुझाउनुपर्नेछ भने ५० करोडभन्दा माथिको चुक्ता पूँजी भएका कम्पनीले ५० हजार बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

शुल्क बुझाउनका लागि ग्लोवल आईएमई बैंक लिमिटेड, कमलादी शाखामा रहेको नेप्सेको खाता नम्बर ०७५०१०१००००७७५ Nepse Operating Account मा रकम जम्मा गर्नुपर्ने र उक्त रकम बुझाएको बैंक भौचर [email protected] मा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

नेप्सेले तोकिएको समयमा नवीकरण शुल्क नबुझाएमा वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने चेतावनी दिएको छ। त्यस्तै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ बमोजिम शुल्क नबुझाउने कम्पनीहरुको सूचीकरणसमेत स्थगन गर्न सकिने उल्लेख गरिएको छ।

1758620605506

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*