पुँजी बजारमा गिरावटः कारोबार खुम्चियो, निर्जीवन बीमा र फाइनान्सका लगानीकर्ता डुबे

काठमाडौँ । दुई दिन लगातार हरियाली देखिएको शेयर बजार आज घट्न पुगेको छ । बजारमा शेयर बिक्री गर्ने लगानीकर्ताको दबाब बढेपछि बजार राताम्य भएको हो । अघिल्ला दुई कारोबार दिन बजार उच्च अंकले बढेको थियो । तर हालैको राजनीतिक अस्थिरता, जेन जी आन्दोलनका कारण कम्पनीहरूमा परेको भौतिक क्षति र दशैं नजिकिँदै गर्दा हुने खर्च जुटाउन शेयर बिक्री गर्ने दबाबले बजारमा पहिरो झैं प्रभाव पारेको छ ।
हालको राजनीतिक परिवेश अझै स्पष्ट नभएको, पुराना दलहरूको विरोध आन्दोलन जारी रहेको र जेन जी आन्दोलनभित्रको विभाजनले पनि लगानीकर्तामा अनिश्चितता बढाएको छ । नवनियुक्त अर्थमन्त्रीको नीतिसम्बन्धी स्पष्ट दिशानिर्देश नहुँदा बजारमा अन्योल बढेको देखिन्छ। अघिल्ला प्रधानमन्त्री र अर्थमन्त्रीले आर्थिक नीति र शेयर बजारलाई देशको अर्थतन्त्रको ऐना भनी प्राथमिकता दिएका थिए, तर अहिलेको अन्तरिम सरकारको दृष्टिकोण स्पष्ट नभएकाले बजार अनिश्चित बाटोमा मोडिएको छ ।
शेयर बजारको भविष्य केवल आर्थिक नीतिसँग मात्र होइन, राजनीतिक स्थायीत्वसँग पनि गाँसिएको हुन्छ। स्वतन्त्र नेतृत्वको सरकार भए पनि पुराना दलहरूले यसलाई संविधानविरोधी भन्दै आलोचना गरिरहेका छन् र अदालतसम्म जाने चेतावनी दिएका छन्। यस्तो अवस्थामा सरकारको दीर्घकालीन भविष्य अनिश्चित देखिएको हुँदा लगानीकर्ताको मनोबल कमजोर भएको छ र बजारमा बेच्ने प्रवृत्ति अझ तीव्र बनेको देखिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.८९ अंकले घटेर २६५४.३५ बिन्दुमा कायम भएको छ । ३१७ कम्पनीको ९४ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १२ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन ११ उपसूचकमा राताम्य भएको छ । आज निर्जीवन बीमा समूहको १.५१ प्रतिशत, व्यापार समूहको १.६५ प्रतिशत, फाइनान्स समूहको १.३९ प्रतिशत र विकास बैंक समूहको १.१३ प्रतिशतले बढेको छ ।














