जेन–जी आन्दोलनको बीमा दावी भुक्तानी चुनौती होइन–अवसर हो, यथाशीघ्र दिलाउन नव–नियुक्त अध्यक्ष शर्माको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष जनकराज शर्माले जेन–जी आन्दोलनको क्षतिमा परेको बीमा दावी भुक्तानी यथाशीघ्र उपलब्ध गराउन बीमकलाई निर्देशन दिएका छन् । शुक्रबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै नेपाल बीमा प्राधिकरणमा पदभार ग्रहण गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।
‘जेन–जी आन्दोलनको क्षतिले नेपाली बीमा क्षेत्रमा इतिहासकै ठूलो बीमा दावी परेको छ । सबै बीमकलाई समयमै सहज रुपले बीमा दावी भुक्तानी गर्न निर्देशन दिएको छु ।’ अध्यक्ष शर्माले भने ।
‘जेन–जी आन्दोलनको क्षतिले बीमा कम्पनीहरुमा परेको बीमा दावी भुक्तानी भनेको समग्र बीमा क्षेत्रको लागि अवसर र चुनौती बनेको छ । यस परिस्थितीमा सहज रुपमा हामीले बीमा दावी भुक्तानी दिलाउन सकेको खण्डमा हामीप्रतिको विश्वास नागरिकमा बढ्नेछ । त्यसैले सक्दो चाँडो बीमा दावी भुक्तानीमा प्राधिकरणसहित सम्पूर्ण बीमक एक भएर अघि बढ्न आवश्यक छ ।’ उनले भने ।

नेपाली बीमा क्षेत्रको नियमनलाई कानुनको दायरामा रही पूर्ण रुपमा सक्रिय बनाएर समग्र बीमा उद्योगलाई व्यवस्थित र पारदर्शी बनाउन आफु अग्रसर रहेको समेत उने बताएका छन् ।
नेपाल बीमा प्राधिकरणका निर्देशकसहित सम्पूर्ण कर्मचारीहरुलाई अगाडी राख्दै उनले जेन–जी आन्दोलनको क्षतिमा परेको बीमा दावी भुक्तानी दिलाउन प्राधिकरणले कडा नियमन गर्न आवश्यक भएकाले सोही अनुरुप काम गर्न समेत सम्पूर्ण कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष शर्माले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कडाई गर्ने निर्देशन दिएका छन् ।बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले बीमा क्षेत्रमा रहेका समस्या समाधानको लागि कुनै पनि कसर बाँकी नराख्ने धारणा व्यक्त गरेका छन् ।
अध्यक्ष शर्माले बीमा प्राधिकरणको नीति र निर्देशनमा रही काम गर्ने बीमकलाई समान र कानुनभन्दा बाहिर रही काम गर्ने बीमकलाई कारबाही गर्न कुनै पनि हिसावले पछि नपर्ने अडान लिएका छन् ।













