दाबी भुक्तानीलाई सहज बनाउन बीमक र पुनर्बीमा कम्पनीसँग निरन्तर बैठकमा बीमा प्राधिकरण

२१ आश्विन २०८२, मंगलवार १७:३९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज जीवन बीमा कम्पनीहरू, लघु बीमा कम्पनीहरू र पुनर्बीमा कम्पनीहरूका प्रतिनिधिहरूसँग छिटो र प्रभावकारी दाबी भुक्तानीलाई सहज बनाउने उपायहरूबारे छलफल गर्न बैठक सम्पन्न गरेको छ ।

छलफल अग्रिम दाबी भुक्तानीलाई तीव्र पार्ने, पुनर्बीमा र तरलता समर्थन बढाउने र वर्तमान सन्दर्भमा सहज दाबी व्यवस्थापन सुनिश्चित गर्न समसामयिक चुनौतीहरूलाई सम्बोधन गर्ने कुरामा केन्द्रित रहेको थियो । प्राधिकरणले बीमितहरुको सुरक्षालाई प्राथमिकता दिन र निष्पक्ष, पारदर्शी र उत्तरदायी बीमा इकोसिस्टमलाई बढावा दिन प्रतिबद्ध समेत बैठकमा जनाएको थियो ।

छलफलमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले हालैको आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानीयोग्य भएको र दाबी भुक्तानी गर्ने दायित्व बीमा कम्पनीहरूको हुनेहुँदा दाबी भुक्तानी मार्गदर्शन बमोजिम छिटोभन्दा छिटो दाबी भुक्तानी दिन बीमकहरूलाई निर्देशन दिदै दाबी भुक्तानीका सम्बन्धमा बीमकहरूलाई कानूनी तथा व्यावहारिक समस्यमा भएमा प्राधिकरणले सहजीकरण गर्ने बताए ।

कार्यकारी निर्देशक सुवेदीले भने, ‘बीमकले प्रारम्भिक सर्भे रिपोर्टका आधारमा बीमा दाबी भुक्तानी गर्दै जानुपर्‍यो, बीमितले पैसा पाएको अनुभूति गर्नुपर्‍यो, दाबी भुक्तानी दिएको बारेमा आम रूपमा जानकारी दिनुपर्‍यो, बीमकले बीमितलाई र पुनर्बीमकले बीमकलाई समयमैं एड्भान्स रकम दिनुपर्‍यो ।’

बीमकले प्रवाह गर्ने बीमा दाबी र दाबी भुक्तानी सम्बन्धी तथ्याङ्क सही हुनुपर्ने र गलत तथ्याङ्क दिने बीमकमाथि प्राधिकरण कडाईका साथ प्रस्तुत हुने उल्लेख गर्दै कार्यकारी निर्देशक सुवेदीले तरलतालाई उच्च प्राथमिकतामा राखेर बजारमा अविलम्ब तरलता प्रवाह गर्न पुनर्बीमा कम्पनीहरूलाई निर्देशन दिए ।

छलफलमा निर्जीवन बीमा कम्पनी र लघु निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी भुक्तानी दिन सक्छौं, भु्क्तानी दिन्छौं र यसमा कुनै समस्या नरहेको धारणा व्यक्त गरेका छन् ।

साथै, उनीहरुले साना बीमा दाबीहरूको भुक्तानी गर्दै आएको, ठूला दाबीको हकमा नगद प्रवाह आवश्यक भएकाले पुनर्बीमा कम्पनीहरूले सक्रिय रूपमा सहयोग गर्नुपर्ने र तरलता व्यवस्थापनमा समेत पुनर्बीमले भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै कम्पनीहरूले क्षतिको प्रतिवेदन तयार गर्न फिल्डमा बीमा सर्भेयरहरू खटाइसकेको र सर्भेयरहरूबाट प्रतिवेदन आउनेक्रम समेत जारी रहेको जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*