शेयर बजारमा भारी गिरावट कायमै, कारोबार बढ्यो, अबको यात्रा कता ?

२२ आश्विन २०८२, बुधबार १५:०७

काठमाडौं । दशैंपछि खुलेको शेयर बजार आज पनि ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर भएपछि बजार राताम्य भएको छ र कारोबारमा गिरावट निरन्तर देखिएको छ । लगानीकर्ताले आशा गरेका सुधार र सरकारको सक्रिय कदमका बाबजुद बजारले अपेक्षित गति लिन सकेको छैन ।

बुधबार नेपाल स्टक एक्सचेन्च (नेप्से) ४५.३६ अंकले घटेर २५५९ को बिन्दुमा कायम भएको छ । समग्रमा राताम्मे बनेको बजारमा आज विभिन्न सेक्टरका ३३५ वटा कम्पनीहरुको एक करोड ३७ लाख ४९ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज पनि सम्पूर्ण इन्डेक्सहरु राताम्मे बनेका छन् । फाइनान्स र होटल सेक्टर सबैभन्दा बढी प्रतिशतले घट्न पुगेको छ । बुधबार कुल २३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने १८ वटाको मात्र बढेको छ ।

हाल बनेको नयाँ सरकारले शेयर बजारका पक्षमा कति सक्रिय रहनेछ भन्ने विषयमा स्पष्टता नआएको कारण पनि बजारमा अनिश्चितता बढेको छ । अर्थमन्त्री खनालले सक्रियतापूर्वक कदम चाले पनि बजारले अपेक्षित लयमा आउन सकेको छैन । यससँगै पुराना राजनीतिक दलहरू—एमाले, कांग्रेस र माओवादी—नयाँ सरकारप्रति असन्तुष्ट रहँदा राजनीतिक अस्थिरताको वातावरण झन् बढेको छ ।

सडक आन्दोलनको तयारी र विरोधका खबरहरूले लगानीकर्ताको मनोबलमा प्रत्यक्ष प्रभाव पारेको छ । नेपालमा शेयर बजारको मनोविज्ञानमा राजनीतिक उतारचढावको प्रभाव सधैं देखिँदै आएको छ र अहिले पनि यही अवस्था दोहोरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*