शरद ओझाको अल्पकालिन अन्तरिममाथि सुनुवाई आज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई अध्यक्षको हैसियतमा काम गर्न दिने कि नदिने भन्ने सम्बन्धमा सर्वोच्च अदालतमा आजको लागि सुनुवाईको मिति तोकिएको छ ।
असोज २६ गतेको लागि तोकिएको सुनुवाईको पेशी सम्भवतः आज सुनुवाई हुनेछ । यसअघि पनि सर्वोच्च अदालतमा अन्य दुई वटा मुद्दामा चलिरहेको र उक्त मुद्दाहरुमा अन्तरिम आदेश नपाएको अवस्थामा गत भदौं २ गते मन्त्रिपरिषदको बैठकले बर्खास्त गर्ने निर्णयमाथि सर्वोच्च अदालतमा बहस हुन लागेको हो ।
आजको बहसमा अर्थमन्त्रालय, नयाँ अध्यक्ष छनौट समिति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई बिपक्षी बनाएर रिट दर्ता गरिएकोले सोही निकायका सरकारी वकिल र ओझाका कानुन व्यवसायीका बीचमा प्रतिपक्षा हुनेछ ।
ओझाले नियुक्ती हुँदा फर्जी अनुभव सम्बन्धी कागजात पेश गरेको भन्दै दायर रिटमाथि आगामी मंसिर १ गते पूर्ण इजलाशमा सुनुवाईको हुने मिति तोकिएको छ भने ओझा आफैले पनि यसअघिको सरकारले गठन गरेको छानविन समितिका विरुद्धमा पनि रिट दायर गरेका थिए ।
उमेर र अनुभव सम्बन्धी योग्यता नपुगेका व्यक्तिले तत्कालिन अर्थमन्त्री बिष्णु पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय, मुख्य सचिव एकनारायण अर्यालसँगको सेटिङमा नेपाल सरकार मन्त्रिपरिषदलाई समेत झुक्याएर नेपाल बीमा प्राधिकरणमा नियुक्ती लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान उजुरी दर्ता भई छानविनकै क्रममा रहेको अवस्था छ ।













