अनिश्चित बाटोमा बजारः नेप्सेमा पहिरो जाँदा आत्तिए लगानीकर्ता, राष्ट्र बैंकको नीतिको प्रभाव किन परेन ?

काठमाडौँ । पुँजी बजारमा भारी गिरावट आएको छ । गत बिहिबार दोहोरो अकंले बढेको बजारमा आज भने पहिरो गएको हो । बजार घट्दा लगानीकर्ताको अर्बौ लगानी गुमेको छ ।
केन्द्रिय बैंकले केही नीतिगत सुधार भएसँगै बिहिबार बजार खुलेको ३ मिनेटमा सकारात्मक सर्किट समेत लागेको थियो । तर, आइतबार अपेक्षा अनुसार सुधार नभएपनि हरियो नै देखिने आशामा बसेका लगानीकर्तालाई निराश गरायो । बजार खुलेदेखि नै निरन्तर ओरालो यात्रा तिर अघि बढ्दा लगानीकर्ता चिन्तित बने ।
तिहार नजिकिँदै गर्दा लगानीकर्ताहरू ब्याज तिर्न र चाडपर्वका खर्चका लागि शेयर बिक्रीमा लाग्दा समेत बजार राताम्य हुन पुग्यो । जेन जी आन्दोलनका कारण उत्पन्न राजनीतिक अस्थिरताले बजारको मनोबल कमजोर बनाएको छ । अन्तिम सरकारका विरुद्ध कांग्रेस र एमाले अदालत जान सक्ने संकेत देखिँदै गर्दा बजारमा थप अनिश्चितता बढेको छ । यस्तो अवस्थामा नियामक निकाय र नीतिगत सुधारहरू सकारात्मक भए पनि तत्काल बजारलाई स्थायित्वमा फर्काउन कठिन देखिएको छ ।
बैंकहरूको लगानी क्षमता बढाउने, शेयर धितो कर्जामा सीमा हटाउने र दोस्रो बजारमा लगानी सहज बनाउने निर्णयहरू दीर्घकालीन रूपमा लाभदायक हुने देखिपनि अहिले भने त्यसको प्रभाव पर्ने नसकेको आंकलन लगानीकर्ताहरुको रहेको छ ।
अझ बजारमा सुरुवात देखि नै भारी गिरावट देखियो । सोहि गिरावटकाबीच लगानीकर्ता आत्तिएर शेयर बिक्री गर्ने खोज्दा बजार थप ओरालो लाग्न पुगेको हो । जसमा लगानीकर्ता अर्बौ लगानी डुबेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७८.८३ अकंले घटेर २५०३.३५ बिन्दुमा झरेको छ । आज ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँको कारोबार भएको हो ।
यसदिन १३ वटै उपसूचक राताम्य भएका छन् । आज होटल तथा पर्यटन समूहको शेयर मुल्य सर्वाधिक ४.८४ प्रतिशतले घटेको हो । साथै, वाणिज्य बैंकको २.३० प्रतिशत, विकास बैंक समूहको २.९३ प्रतिशत र फाइनान्स समूहको समेत ३.६७ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आइतबार ९ कम्पनीको शेयर मूल्य बढ्दा २४२ कम्पनीको घटेको छ ।













