लगानीकर्ताको दबाबपछि धितोपत्र बोर्ड झुक्यो, ९ बुँदे सुधार योजना सार्वजनिक

२७ आश्विन २०८२, सोमबार १३:३३

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले आइतबार राति लगानीकर्ताको समूहसमक्ष पूँजीबजार सुधारका लागि ९ बुँदे प्रतिबद्धता जनाएको छ। पूँजीबजार सुधार कार्यदलका सुझावहरू कार्यान्वयन नगरेको भन्दै लगानीकर्ताहरू बोर्डमा पुगेर दबाब दिएका थिए। बोर्डका सञ्चालक समितिका सदस्यहरूले लगानीकर्तासँगको भेटमा ती ९ बुँदे प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

बोर्डले कात्तिक मसान्तभित्र ब्रोकरमार्फत मार्जिन कारोबार प्रणाली लागू गर्ने तयारी गरेको छ। त्यस्तै, सीडीएस एन्ड क्लियरिङमार्फत जारी गरिने आइजिनको एकरूपता कायम गर्न मापदण्ड तय गरी सोही अवधिभित्र लागू गर्ने प्रतिबद्धता पनि बोर्डले जनाएको छ।

बोर्डले बोनस सेयर वितरणका क्रममा लाभांश करका विषयमा उत्पन्न हुने अन्योल हटाउन संस्थाले नै लाभांश करको मिलान र भुक्तानी गर्ने व्यवस्था तत्काल लागू गर्ने आश्वासन दिएको छ। साथै, ब्रोकर कम्पनीहरूले सेयर बिक्रीपछि लगानीकर्तालाई तोकिएको समयमा रकम नदिएमा त्यसबाट उत्पन्न हुने दायित्व तथा प्रतिफल भुक्तानी प्रणालीमा एकरूपता ल्याउने योजना पनि बोर्डले अघि सारेको छ। यो व्यवस्था मंसिर १५ भित्र लागू गरिने उल्लेख गरिएको छ।

त्यसैगरी बोर्डले लगानीकर्ताले दुई वा सोभन्दा बढी डिम्याट खाता खोल्न पाउने व्यवस्था कात्तिक १५ भित्र गर्न प्रतिबद्धता जनाएको छ। साथै, नेप्सेले कम्पनी वर्गीकरण गर्दा वस्तुनिष्ठ मापदण्ड अपनाउने विषयमा पनि बोर्डले तुरुन्तै कदम चाल्ने जनाएको छ।

लगानीकर्ताको समस्या तथा गुनासो छिटो समाधान गर्न विशेष गुनासो व्यवस्थापन संयन्त्र स्थापना गरी सञ्चालनमा ल्याउने र पूँजीबजार सम्बन्धी साक्षरताका लागि तालिम तथा कार्यशाला कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि प्रतिबद्धतामा समावेश छ।

बोर्डले धितोपत्रसम्बन्धी अपराध र अनियमितताको जाँचबुझलाई समयमै र प्रभावकारी ढंगले सम्पन्न गर्ने प्रतिवद्धता जनाउँदै पूँजीबजार सुधारका लागि लगानीकर्तासँग सहकार्य गर्ने संकेत गरेको छ।

आइतबार रातिको भेटवार्ताले केही हदसम्म लगानीकर्ताको असन्तुष्टि घटाउने अपेक्षा गरिएको छ। पूँजीबजारमा देखिएको अस्थिरता र लगानीकर्ताको मनोबल घटिरहेको अवस्थामा बोर्डको ९ बुँदे प्रतिबद्धता सकारात्मक सन्देशका रूपमा लिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*