बोर्डको आन्दोलनले पूँजी बजारमा अस्थिरता, मर्चेन्ट बैंकर्स एसोसिएसनद्वारा तत्काल समाधानको माग

२८ आश्विन २०८२, मंगलवार १२:५५

काठमाडौँ ।अर्थ मन्त्रालयद्वारा भदौ ३१ गते जारी निर्देशन कार्यान्वयनका क्रममा उत्पन्न असमझदारीका कारण नेपाल धितोपत्र बोर्डमा कार्यरत कर्मचारीहरू पछिल्लो तीन हप्तादेखि आन्दोलनरत छन्। यसले मर्चेन्ट बैंकर्सहरूले नियमित रूपमा बुझाउनुपर्ने विवरण तथा कागजातहरू बुझाउन नसक्ने अवस्था सिर्जना गरेको छ भने धितोपत्रको सार्वजनिक निष्काशनसँग सम्बन्धित कार्यहरू समेत ठप्प भएका छन्।

मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष रामेन्द्र रायमाझीले जारी गरेको विज्ञप्तिमा पूँजी बजारको सर्वोच्च नियामक निकायमा यस्तो अन्यौलको अवस्था सिर्जना हुनु गम्भीर ध्यानाकर्षणको विषय भएको बताएका छन्। उनले सम्बन्धित निकायले अहिलेसम्म उचित समाधान नगरेको अवस्थामा परिस्थिति अझै असहज बन्दै गएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ  ‘बोर्ड मातहतका सबै सङ्गठित संस्था, सूचीकृत कम्पनीहरू र पूँजी बजारका अन्य सहभागीहरूको निरन्तर नियमन तथा सुपरिवेक्षण, साथै पूँजीबजार सुधार कार्यदलले सुझाएका सुझावहरूको कार्यान्वयनको लागि यो असहज अवस्था समयमै समाधान हुनु आवश्यक छ।’

संघले नियामक निकायको स्वायत्तता, संस्थागत निरन्तरता र स्थायित्व कायम रहनु अत्यावश्यक भएको जोड दिँदै आन्दोलनरत कर्मचारीसँग सकारात्मक संवाद र सहमतिका माध्यमबाट हालको अन्यौलजन्य परिस्थितिको यथासिघ्र समाधान गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डसहित सम्बन्धित पक्षलाई अनुरोध गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*