गण्डकीमा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयको आयोजनामा आइतबार पोखरामा बीमा क्षेत्रका सरोकारवालाबीच “बीमा सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम” सम्पन्न भएको छ। उक्त कार्यक्रममा गण्डकी प्रदेशका बीमकका प्रदेश प्रमुखहरू, नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निप्स) पोखरा च्याप्टरका पदाधिकारीहरू, नेपाल सर्भेयर एसोसिएसन कास्की च्याप्टरका प्रतिनिधिहरू लगायत बीमा क्षेत्रका विभिन्न सरोकारवाला सहभागी रहेका थिए।
कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले गरेका थिए भने शुरुवातमा गण्डकी प्रदेश प्रमुख शम्भु प्रसाद मिश्रले निर्देशक सुवेदीलाई औपचारिक स्वागत गर्दै कार्यक्रमको प्रारम्भ गराएका थिए।

कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले बीमा क्षेत्रको प्रमुख चुनौतीका रूपमा रहेको क्यास ब्याक सम्बन्धी समस्याबारे प्राधिकरणले गम्भीर गृहकार्य गरिरहेको बताए। उनले सो कसूरमा कसैलाई पनि छुट नहुने स्पष्ट पार्दै बीमकका कर्मचारीहरू सो कार्यमा संलग्न भए कानूनी कारबाही हुने चेतावनी दिए। साथै बीमा सम्बन्धी नीति तथा नियममा आवश्यक परिमार्जनका सुझावहरू प्राधिकरणमा इमेलमार्फत पठाउन सरोकारवालाहरूसमक्ष अनुरोध समेत गरे।
सुवेदीले बीमा अभिकर्ताको दर्ता र खारेजी सम्बन्धी व्यवस्थाबारे समेत सरोकारवालामा देखिएका अन्योल स्पष्ट पार्दै प्राधिकरणले नीति–नियमको पारदर्शी कार्यान्वयनमा जोड दिएको बताए। कार्यक्रममा निप्स पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेलले स्वस्थ प्रतिस्पर्धा र पारदर्शी अभ्यासले बीमा व्यवसायलाई विश्वसनीय बनाउन सहयोग पुर्याउने भन्दै बीमाकर्मीहरूलाई प्रचलित नीति–नियमअनुसार कार्य गर्न आग्रह गरे।
त्यस्तै निशा पोखरा च्याप्टरका संयोजक बुद्धीराज अधिकारीले सर्भेयरहरूलाई साना–ठूला सबै प्रकारका बीमा दाबीको क्षतिमूल्याङ्कनमा सहभागी गराउने व्यवस्था मिलाउन प्राधिकरणसँग आग्रह गरे। उनका अनुसार यसले नयाँ सर्भेयरहरूको पलायन रोक्न सहयोग पुग्नेछ।
पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय अध्यक्ष केदारनाथ अधिकारीले नयाँ जीवन बीमा अभिकर्ताको योग्यता स्तर परिमार्जन गरी न्यूनतम एसएलसी (कक्षा १०) कायम गर्नुपर्नेमा जोड दिए। कार्यक्रमको अन्त्यमा सहभागी सरोकारवालाहरूले प्रचलित ऐन, विनियमावली, निर्देशिका, कार्यविधि तथा परिपत्रअनुसार नै बीमा व्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।














