बीमा रकममा विभेद भएको भन्दै सौर्य एयरका मृतक कर्मचारीका परिवारको आपत्ति

रिना खत्री
१६ कार्तिक २०८२, आईतवार १४:२७

काठमाडौं । काठमाडौंको विमानस्थलमा एक बर्षअघि भएको सौर्य एयरको विमान दुघर्टनामा ज्यान गुमाएका कर्मचारीहरुबीच बीमा रकममा विभेद भएको भन्दै परिवारजनले आपत्ति जनाएका छन् ।‘फेरी उडान’ को ‘ड्युटी’ मा रहेकामध्ये दुई जनालाई बीमावापत सम्पूर्ण दाबीको पूर्ण र अन्तिम निप्टाराबापत ५० हजार अमेरिकी डलर (७० लाख रुपैयाँ हाराहारी) र अन्यलाई यात्रुले पाउने २० हजार अमेरिकी डलर (करिब २८ लाख रुपैयाँ) मात्र दिइने भएपछि उनीहरू असन्तुष्ट बनेका हुन् ।

आईकाओको नियम अनुसार नेपालमा हवाई बीमा नहुँदा यो समस्या पटक पटक बल्झिदै आएको छ । सौर्य एयरलाइन्सको बीमा गर्दाकै बखत त्रुटी गरेको भेटिएको छ । आईकाओको नियम अनुसार जहाजका क्रु मेम्वरका लागि एक लाख डलरको बीमा गर्नुपर्नेमा त्यसो नगरिएको भेटिएको छ । अन्य यात्रुको समय नियम भन्दा निकै कम मात्रै बीमा गरिएको भेटिएको हो ।

सौर्यको ‘अल्फा–माइक–इको’ रजिस्ट्रेसन नम्बरको सीआरजे विमान विस्तृत मर्मत (सी–चेक) का लागि पोखरा उड्ने (टेक अफ) क्रममा ९ साउन २०८१ मा दुर्घटनामा परेको थियो ।उक्त विमान दर्घटनाको कारण ज्यान गुमाएका प्राविधिक कर्मचारीको क्षतिपूर्ति भुक्तानी विभेद गरिएको भन्दै कम्पनीले गुनासो नसुनेपछि कर्मचारीहरु बीमा कम्पनी र बीमकको नियामक निकाय नेपाल बीमा प्राधिकरण धाउन थालेका छन् । पीडितहरुले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बीमा रकममा विभेद गरिएको आरोप लगाउँदै जहाज कम्पनीमाथि कारवाहीको माग राखेका छन् ।

सौर्य एयरलाइन्सले मर्मत सम्भार गर्नेलाई क्रु मेम्वरकाको सूचिमा राख्न नसकिने जवाफ दिएपछि बीमा कम्पनी र प्राधिकरणमा गुनासो लिएर पुगेका हुन् ।

बीमा कम्पनीहरुले एयरलाइन्सले कम्पनीसँग सम्झौता गरेको हुन्छ । एयरलाइन्सले जुन आधारमा बीमा सम्झौता अनुसार बीमा दाबी गर्छ, त्यसको दाबी दिने गर्दछ । जसमा बीमा कम्पनीसँग एयरलाइन्सका कर्मचारीहरुले रिस पोख्नु र उजुरी दिनुको अर्थ नरहने बीमा कम्पनीले जनाएको छ । प्रभु इन्स्योरेन्स कम्पनीका सिईओ संञ्चित ब्रजाचार्यले भने,– ‘हामीले सौर्य एयरलाएन्सले बीमा सम्झौता गरे बमोजिम दाबी गरेवापत भुक्तानी प्रकृया अघि बढाउने हो । सम्झौतामा जुन शर्त छ, सोही शर्त बमोजिमको दावी भुक्तानी हुन्छ ।’ बीमितहरुलाई बीमा वापतको दाबीमा विभेद गरिएको बिषय बीमा कम्पनीसँग सरोकार नहुने एयरलाइन्ससँग सम्बन्धित हुने सिईओ ब्रजाचार्य बताँउछन्।

सौर्यको पारम्भिक प्रतिवेदन मात्रै आएको छ । अन्तिम रिर्पोट नआँउदासम्म बीमा कम्पनीहरुले भुक्तानी गर्न पाँउदैन भने बीमा प्राधिकरणले पनि यस बिषयमा एकिनका साथ बीमितहरुको अवस्थाको बारेमा बोल्न पाँउदैनन्।

को–पाइलट सुशान्त कटुवालसहित प्यासेन्जर बोर्डमा रहेका १८ जनाको ज्यान गएको थियो । उनीहरूमा अधिकांश सौर्यका प्राविधिक, इन्जिनियर थिए । क्याप्टेन मनीषरत्न शाक्यको भने जीवितै उद्धार गरिएको थियो । मर्मतका लागि आवश्यक पर्ने जनशक्ति राखेर लैजाने ‘फेरी उडान’ अनुमति दिएर जहाज उडेको थियो ।

दुर्घटनामा ज्यान गुमाएका को–पाइलट कटुवाल र अपरेसन इन्जिनियर महतोको परिवारलाई ५० हजार अमेरिकी डलर उपलब्ध गराइएको छ ।

अन्यका हकमा टिकट खरिद गरेका यात्रुले पाउने २० हजार अमेरिकी डलर लिन सौर्यको बीमा तथा कानुनको काम गर्ने एजेन्ट कम्पनी ‘प्रधान एन्ड एसोसिएट्स’ मार्फत दबाब आएको परिवारजनको भनाइ छ । त्यसमा १० जना मृतकको परिवारले बीमा रकममा आपत्ति जनाएका छन् ।

नेपालको उड्डयन क्षेत्रमा तीन दशकदेखि प्राविधिकका रूपमा काम गरिसकेका दिलिप सौर्य एयरलाइन्समा क्वालिटी म्यानेजर (इन्जिनियर) का रूपमा कार्यरत थिए ।

८ वर्षदेखि सौर्यमा काम गर्दै आएका ५८ वर्षीय दिलिपको जिम्मेवारी जहाजको मर्मत सम्भारमा गुणस्तर ठीक भए÷नभएको हेर्ने थियो । पोखरा जाने बेला उनलाई सौर्यले क्रु मेम्बरसरह ‘मेन्टिनेन्स पर्सोनल’ को भूमिकामा पठाएको थियो ।

तर दुर्घटनापछि ‘प्रधान एन्ड एसोसिएट्स’ ले दिलिपकी ५१ वर्षीया पत्नी प्रीतिलाल कायस्थलाई बीमा रकम अधिकतम २० हजार अमेरिकी डलर तोकिएकाले हकदाबी गर्न २८ पुस २०८१ मा बोलाएको थियो ।

प्रीति श्रीमान् गुमाउनुपरेको पीडा बोकेर सौर्य एयरलाइन्स जाने गरेकी छिन् भने एयरलाइन्सले वेवास्ता गरेसँगै बीमा प्राधिकरण, कहिले सौर्य एयरलाइन्स त कहिले प्रभु इन्स्योरेन्स धाइरहेकी छन् ।बीमा प्राधिकरणले छानबिन समितिको प्रतिवेदन नआई केही निर्णय नलिने भनेपछि उनको परिवार निराश बनेका थिए।

सौर्यको जहाज दुर्घटनामा ज्यान गुमाएका रामकोटका एयरक्राफ्ट मेन्टिनेन्स इन्जिनियर उद्धव पुरीका परिवारको पनि गुनासो त्यस्तै रहेको छ । सौर्य एयरको कमजोरीको कारण भएको बीमा दाबीमा भएको समस्यामा सौर्य एयर लापरवाही बन्दा प्राविधिकका परिवारले बीमा प्राधिकरणमा उजुरी दिएको छ ।

उद्धव सौर्यमा ७ वर्षदेखि कार्यरत थिए । उनले भारतको बैंगलुरुबाट एयरक्राफ्ट मेन्टिनेन्स इन्जिनियरिङ अध्ययन गरेका थिए । सौर्यअघि उनले नेपाल वायुसेवा निगममा तीन वर्ष काम गरेका थिए । ‘सौर्य एयरलाइन्सले उडानमा संलग्न कर्मचारीको बिमा ५० हजार डलरको गरेको छ । तर हामीलाई यात्रुसरह दिने भनेपछि आफन्तजन कानुनी लडाइँमा जानुपर्ने अवस्था आएको उनको परिवारको भनाई छ ।

सौर्यको जहाज दुर्घटनामा ललितपुर हात्तीवनका सुदिजलाल जोशीको पनि मृत्यु भएको थियो । उनी ३ वर्षदेखि सौर्यमा एरोनटिकल इन्जिनियरको भूमिकामा कार्यरत थिए । एयरलाइन्सकै कमजोरीले दुर्घटना भएको प्रतिवेदन सार्वजनिक भएकाले कानुनी लडाइँमा जाने तयारीमा रहेको उनको परिवारको तयारीमा रहेको छ।

अन्तर्राष्ट्रिय वार्सा महासन्धिअनुसार मृतकहरू कम्पनीका प्राविधिक कर्मचारी भएको र उनीहरू यात्रु नभई काममा गएकाले ककफिट त्रु सरह बीमाको हकदार भएको आफन्तजनको भनाइ छ ।

यता सौर्य एयरलाइन्स भने मर्मत सम्भार गर्नेलाई क्रुका रूपमा राख्ने प्रावधान नरहेको भन्दै पन्छिदै आएपछि पिडितहरु बीमा कम्पनीमा धाउन थालेका छन् ।

वार्सा सम्झौताले मर्मत सम्भार गर्नेलाई क्रुका रूपमा नराखिने तर अपरेसन इन्जिनियरले आफूलाई उड्ने क्रु को रुपमा दाबी गर्न सक्ने एयरलाइन्सको रहेको छ । एयरलाइन्सले अपरेसन इन्जिनियरसन्तोष महतोको परिवारले क्रुसरहको सुविधामा राखेको छ ।

मृतकहरू राजाराम आचार्य, नवराज आलेमगर, यज्ञप्रसाद पौडेल, आरिफ अब्दुल करिमका परिवारजनले बीमा रकमलगायत क्षतिपूर्तिमा असन्तुष्टि जनाएको सौर्यद्वारा जारी सूचीमा देखिन्छ । यसैबीच यस दुर्घटनामा नाति, छोरी प्रिजा खतिवडा र ज्वाइँ मनुराज शर्मा गुमाएका पत्रकार प्रकाश खतिवडाले पनि बीमालगायत क्षतिपूर्ति पूरा बुझेका छैनन् । उनले यस दुर्घटनाको न्यायिक छानबिनको माग गर्दै आएका छन् ।

सौर्यको जहाज गत वर्ष साउन ९ गते टेक अफका क्रममा काठमाडौं विमानस्थलभित्र दुर्घटनामा परेको थियो ।
दुर्घटनामा क्याप्टेन मनीषरत्न शाक्यको मात्रै जीवितै उद्धार भयो । को–पाइलट सुशान्त कटुवालसहित पछाडि प्यासेन्जर बोर्डमा रहेका १८ जनाको घटनास्थलमै ज्यान गएको थियो त्यसमा मृत्यु हुने अधिकांश सौर्यका प्राविधिक, इन्जिनियर थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*