बैंकबाट बीमा गरेका बीमित ठहरै, जेनजी आन्दोलनका अधिकांश बीमित अण्डर इन्स्योरेन्सको मारमा

काठमाडौं । नेपालमा बैंकास्योरेन्स बन्द भएको धेरै नै भइसकेको छ । अझै पनि बैंकमार्फत हुने बीमा भने रोकिएको छैन । निर्जीवन बीमाको ठूलो हिस्सा बैंकले ऋण लिन आएका ऋणीको सम्पत्ति बीमा पनि मुख्य हो ।
तर, बैंकमार्फत बीमा गरेका बीमितहरु ठहरै हुने गरी ठगिएको तथ्य जेनजी आन्दोलनको क्रममा भएको क्षति र बीमा दावी भुक्तानीको अवस्थाले देखिएको छ । जेनजी आन्दोलनको क्रममा निजि सम्पत्तिहरुको ठूलो क्षति पुगेको थियो । घर तथा भवनहरु, ठूला होटलहरु समेतमा क्षति पुगेको थियो । यति ठूलो क्षतिको नियामक नेपाल बीमा प्राधिरकणले छरिता तरिकाले दावी भुक्तानी गर्न स्पष्ट निर्देशन मात्रै दिएको छैन, ५० प्रतिशत अग्रिम भुक्तानी गर्न समेत निर्देशन दिएको छ।
तर, भित्र केलाएर हेर्दा जेनजी आन्दोलन नेपालमा बैंकमार्फत हुने गरेका बीमामा बीमित कसरी ठगिरएका छन् भन्ने एउटा नरमाइलो घटनाको नेपाली बीमा क्षेत्रमा सदा सम्झिरहनेछ ।
बैंकमार्फत बीमा गर्दा बैंकले आफ्नो ऋणको सीमाको मात्रै बीमा गर्ने र सम्पत्तिको कूल मूल्यको बीमा नगर्ने गरेको पाइएको छ । कूल घर, भवन तथा अन्य औद्योगिक सम्पत्तिको बीमा गर्दा स्टक समेतको कूल गणना गरेर बीमा गरेको अवस्थामा मात्रै क्षति भएको सम्पत्तिको पूर्ण दावी पाइन्छ नत्र अण्डर इन्स्योरेन्स सम्बन्धी नियम आकर्षित भई न्यून रकम पाइन्छ भन्ने कुरा बीमितले थाहै नपाएको अवस्था विद्यमान देखिएको छ ।
अहिले जेनजी आन्दोलनको क्रममा करोडौंको घर क्षति हुँदा पनि बीमितहरु २०–२५ लाख रुपैयाँ मात्रै दावी लिएर चित्त बुझाउन बाध्य भएका छन् । सम्पत्ति बीमा सम्बन्धी निर्देशिका अनुसार बीमा गर्दा पुरा मूल्यको सम्पत्ति बीमा नगरी आंशिक मात्रै बीमा गर्ने र दावी गर्दा पूरा सम्पत्तिको मूल्य दावी गर्न नपाउने व्यवस्था छ ।
सोही कारण अहिले जेनजी आन्दोलनमा नराम्ररी मारमा परेका दर्जनौं गुनासाहरु प्राप्त भएका छन् ।
यस्तो समस्या भोग्नेहरुमा अधिकांश बीमामार्फत बीमा गरेकाहरु रहेका छन् । बैंकमार्फत बीमा गरेका बीमितहरुलाई बीमा कम्पनी समेत थाहा नहुने, आफूले ऋण लिने शाखाका कर्मचारीहरुले भनेपछि मात्रै थाहा पाउने गरेका छन् । त्यसरी बैंकमार्फत बीमा गरिएको बीमाहरु ऋणको सीमासम्मको सम्पत्ति रक्षावरण गरिएको कागजात देखाउनको लागि मात्रै बीमा गर्ने गरेको पाइएको छ । जसको कारण अधिकांश बीमितहरु अण्डर इन्स्योरेन्सको सिकार हुन पुगेका छन् ।
नेपाल बीमक संघका महासचिव सुनिल बल्लभ पन्तले बीमितले फेयर भ्यालुमा बीमा नगर्दा बीमितहरु अण्डर इन्स्योरेन्सको सिकार हुन पुगेकोे बताँउछन् । बीमितले खर्च कम आउने प्रलोभनमा परी लोनको मात्रै बीमा गराउदा फेयर भ्यालु नसमेटिएको उनी बताँउछन् । बीमितलाई जानकारी भएपनि प्रिमियम सस्तो पर्ने लोभमा बीमितहरु आफै फसिरहेको उनको भनाई छ ।
यसको निराकरणको लागि राष्ट्र बैंकमार्फत फेयर भ्यालु समेट्ने गरी बीमा गराउन सो अनुरुप व्यवस्था लागू गर्नुपर्ने महासचिव पन्तले भने ।
आफनो नाम उल्लेख गर्न नचाहने एक बीमा कम्पनीका सिईओले बीमापोष्टसँग भने, ‘यो सबै समस्या बैंकका कर्मचारीहरुका कारण आएको हो, हामीले राष्ट्र बैंकलाई पनि यो बिषय जानकारी गराइसकेका छौं ।’ पछिल्लो पटक बैंकास्योरेन्स खोल्नुपर्दछ भन्दै बहस चलिरहेको बेला बैंकिङ क्षेत्रले गरेको त्रुटीका कारण देशका हजारौं बीमितहरुले बीमा दावी रकम अत्यन्तै न्यून पाउने अवस्था देखिन आएको छ ।
नेपाली बैंकिङ क्षेत्रमा मार्केटिङ, ऋण शाखादेखि सिईओसम्म पनि अण्डर इन्स्योरेन्स क्लज लाग्छ भन्ने चेतनाको अभावमा यस्तो समस्या देखिएको हो । बीमा कम्पनीहरुले बैंकका सिईओदेखि क्रेडिट र जोखिम व्यवस्थापन विभाग समेतका कर्मचारीहरुसँग अन्तरक्रिया र छलफलमार्फत सम्पत्ति बीमा सचेतना हुनु जरुरी देखिएको छ।













