गाउँ–गाउँसम्म बीमाको पहुँच विस्तारका लागि बेसीशहरमा बीमा प्राधिकरणद्वारा व्यापक अन्तरक्रिया कार्यक्रम

२२ मंसिर २०८२, सोमबार १७:२१

काठमाडौँ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले बीमाको विकास तथा प्रवर्द्धनलाई लक्षित गर्दै आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत रहेको “स्थानीय सरकार (बेसीशहर नगरपालिका) सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम मंसिर १९ गते शुक्रबार लमजुङको बेसीशहरस्थित होटल दि टुकुचेमा सम्पन्न गरेको छ। कार्यक्रममा गाउँ–गाउँसम्म बीमाको पहुँच विस्तार गर्दै नेपाली बीमा बजार, बीमाको महत्व, विपद्‌बाट हुने आर्थिक क्षति न्यूनिकरणका उपाय, बीमा विवाद निरुपण प्रक्रिया तथा स्थानीय तहसँग समन्वय गरेर बीमाको दायरा विस्तार गर्ने उद्देश्य रहेको प्राधिकरणले जनाएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु मिश्रले गरेका थिए। कार्यक्रममा बेसीशहर नगरपालिकाका नगर प्रमुख गुमान सिंह अर्याल प्रमुख अतिथीका रूपमा उपस्थित रहेका थिए भने बेसीशहर नगरपालिका निमित्त प्रशासकीय अधिकृत मनोज सिंह बोहोराले विशेष अतिथीका रूपमा आशन ग्रहण गरेका थिए।

सो कार्यक्रममा बेसीशहर नगरपालिका सूचना अधिकृत दिपेश अधिकारी, आइजीआई प्रुडेन्सीयलका गण्डकी प्रदेश प्रमुख जयश्वर श्रेष्ठ, बेसीशहर नगरपालिका वडा नं. २ का अध्यक्ष मदन बहादुर राना, वडा नं. ७ का अध्यक्ष ऋषिराम बस्नेत, वडा नं. १० का अध्यक्ष गंगा बहादुर थापा, वडा नं. ११ का अध्यक्ष शिव प्रसाद जोसी, कार्यपालिका सदस्य श्रीनाथ दुलाल, सुकमाया घर्ती, सुकमाया गुरुङ, मनिता परियार, स्थानीय बुद्धिजीवी, जीवन तथा निर्जीवन बीमकका प्रदेश प्रमुख तथा प्रतिनिधिहरू, जिल्ला पत्रकार महासंघ उपाध्यक्ष बसन्त भट्टलगायत स्थानीय पत्रकार तथा व्यावसायिक कृषकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

अन्तरक्रिया कार्यक्रममा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयकी सहायक निर्देशक कबिता पाण्डेयले कार्यक्रम सञ्चालन तथा प्रस्तुतिकरण गरेकी थिइन्। कार्यक्रममा कर्मदा सिर्जना मञ्चका कार्यबाहक अध्यक्ष तथा साहित्यकार लक्ष्मी प्रसाद मिश्रले बीमासम्बन्धी आफ्ना सिर्जनाहरू वाचन गरेका थिए।

कार्यक्रममा गरिएको प्रस्तुतिकरणमा बीमा सम्बन्धी कानूनी व्यवस्था, नेपाल बीमा प्राधिकरणको परिचय, प्राधिकरणको संचालक समितिको गठन, प्रदेशगत संरचना, प्राधिकरणका काम–कर्तव्य–अधिकार, प्राधिकरणबाट इजाजतपत्र प्राप्त सरोकारवाला निकाय, नेपालको वित्तीय प्रणालीका नियमनकारी संस्था, जोखिम र बीमाको अवधारणा, विपद्‌बाट हुने आर्थिक क्षतिको पुनर्भरणका उपाय, जोखिम हस्तान्तरणका लागि बीमाको प्रयोग, बीमाका प्रकार, उजुरी दर्तादेखि फर्छ्यौटको अवस्था, कृषि, पशुपन्छी तथा जडिबुटी बीमाका क्षेत्र र प्रक्रिया, बाली तथा पशुधन बीमाको अनुदान व्यवस्था, पशुपन्छी तथा माछा बीमालेखका किसिम र दर, कृषि तथा पशुपन्छी बीमा मध्यस्थकर्ताको भूमिका, दाबी भुक्तानीका व्यवस्था तथा प्रक्रिया, बीमा गर्दा ध्यान दिनुपर्ने विषयहरू, सरकारद्वारा अनिवार्य गरिएका बीमाका प्रकार, सवारी साधन बीमामा क्षतिपूर्तिको अधिकतम सीमा, गण्डकी प्रदेशमा कृषि बीमा गर्ने बीमक तथा तिनका सम्पर्क विवरण, नेपाल सरकारका बीमा प्रवर्द्धनका प्रयास, स्थानीय तहमा बीमाको मार्गचित्र, स्थानीय सरकारप्रति नेपाल बीमा प्राधिकरणको अपेक्षा तथा स्थानीय सरकारलाई प्राधिकरणले गर्न सक्ने सहयोगलगायत सम्पूर्ण विषय विस्तृत रूपमा समावेश गरिएका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*