सञ्चालन आम्दानी बढे पनि टेलिकमको नाफामा दबाब, ओटीटी प्रभावले आय संरचना चुनौतीमा

२९ माघ २०८२, बिहीबार १२:५०

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम-एनटीसी) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सञ्चालन आम्दानीतर्फ सामान्य वृद्धि देखाए पनि नाफा सूचकहरू भने दबाबमा परेका छन्।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म एनटीसीको कुल सञ्चालन आम्दानी १७ अर्ब २९ करोड रुपैयाँ नाघेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १.७ प्रतिशतले बढी हो। गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी करिब १७ अर्ब रुपैयाँ आसपास थियो।

तर सञ्चालन आम्दानी बढे पनि कुल आम्दानी भने घटेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी करिब १९ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब डेढ प्रतिशतले कम हो।

ब्याज, कर, मूल्यह्रास तथा डिप्रिसिएसन अघिको आम्दानीमा समेत गिरावट आएको छ। यो शीर्षकअन्तर्गतको आम्दानी करिब २.६ प्रतिशतले घटेर ९ अर्ब ७७ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी १० अर्ब रुपैयाँ नाघेको थियो।

नाफा सूचकहरू अझै कमजोर देखिएका छन्। कर अघिको नाफा करिब ४.६ प्रतिशतले घटेर ५ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ। यसैगरी, खुद नाफा पनि दोहोरो अंकले घटेको छ। चालु आवको पहिलो ६ महिनामा कम्पनीको खुद नाफा करिब १३ प्रतिशतले घटेर ४ अर्ब १६ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ४ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो। यस अवधिमा प्रतिसेयर आम्दानी ४६ रुपैयाँभन्दा केही माथि रहेको छ।

कम्पनीका अनुसार नाफा घट्नुका पछाडि संरचनात्मक तथा बजारगत कारणहरू रहेका छन्। ओटीटी सेवाको बढ्दो प्रयोगका कारण विदेशबाट नेपालमा आउने आगमन कलको संख्यामा उल्लेखनीय कमी आएको छ। चालु आवको पहिलो ६ महिनामा आगमन कल करिब ६ प्रतिशतले घटेको छ, जसको प्रत्यक्ष असर भ्वाइस र एसएमएस सेवाबाट हुने आम्दानीमा परेको कम्पनीको भनाइ छ।

त्यस्तै, लगानीको मूल्यमा आएको उतारचढाव र ब्याजदरमा निरन्तर गिरावटका कारण ब्याज आम्दानीमा ठूलो कमी आएको छ। अघिल्लो वर्षको दोस्रो त्रैमासको तुलनामा ब्याज आम्दानी करिब ७४ करोड रुपैयाँले घटेको छ, जुन करिब ३२ प्रतिशत बराबर हो।

नेपाल टेलिकमले राष्ट्रको प्रमुख सञ्चार सेवाप्रदायकको हैसियतले दुर्गम तथा विकट क्षेत्रमा समेत सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर लगानी गर्नुपर्ने बाध्यता रहेको जनाएको छ। यसले लागत संरचनामा दबाब सिर्जना गरेको छ। साथै, सेवा दरसम्बन्धी नीति तथा नियामकीय परिवर्तनका कारण दर घट्दा अपेक्षित रूपमा राजस्व वृद्धि हुन नसकेको कम्पनीको विश्लेषण छ।

कर्मचारी खर्च पनि उल्लेखनीय रूपमा बढेको छ। कर्मचारीहरूको बीमांक रकम वृद्धि हुनुका साथै नेपाल लेखामान १९ अनुसार योगदानमा आधारित पेन्सन योजनाको दायित्व गणनामा प्रयोग हुने डिस्काउन्ट रेट ७.५ प्रतिशतबाट घटेर ७ प्रतिशतमा झरेकाले पेन्सन तथा उपदान खर्च बढेको कम्पनीले स्पष्ट पारेको छ। यसका कारण समग्र कर्मचारी खर्च करिब ११.५ प्रतिशतले बढेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*