वित्तीय बजारमा डिजिटल ठगहरुको बिगबिगि, साक्षरताको नाममा राष्ट्र बैंक र प्रशासन नोटिसमै सीमित

काठमाडौँ । नेपाली वित्तीय बजारमा डिजिटल ठगीको घटनाले डरलाग्दो रुप लिँदै गएको छ । प्रविधिको द्रुत विकास र अनलाइन सेवाको प्रयोग बढ्दै जाँदा ठगीको घटना पनि निरन्तर वृद्धि भएको देखिन्छ । पछिल्ला वर्षमा डिजिटल ठगीको दायरा फराकिलो हुँदै गएकाले आम नागरिकको अर्बौं रुपैयाँ अनलाइन माध्यमबाट हराइरहेको छ । सरल पहुँच र छिटो सेवा दिने डिजिटल वालेट र अनलाइन प्लेटफर्महरू ठगीका प्रमुख माध्यम बन्न पुगेका छन्, जसले गर्दा डिजिटल अर्थतन्त्रको आधार नै कमजोर हुँदै गएको छ ।
डिजिटल बजारमा फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएप, ट्विटर जस्ता सामाजिक सञ्जाल दैनिक जीवनको अविभाज्य हिस्सा बनेका छन् । यी सञ्जाल सूचना, ज्ञान र सीप आदान–प्रदानको लागि महत्वपूर्ण भए तापनि ठगीको माध्यम पनि बनेका छन् । ठगीहरू सामाजिक सञ्जालमा सजिलै प्रवेश गरी व्यक्तिको विश्वास जितेर रकम लुट्ने प्रवृत्तिमा देखिएका छन् ।
डिजिटल प्रविधि सुविधाजनक भए तापनि यसको प्रयोगमा सचेत नहुँदा सर्वसाधारण सजिलै ठगीको शिकार हुने गरेका छन् । डिजिटल ठगीको प्रभाव सामान्य नागरिकदेखि व्यवसायीहरूमा व्यापक रूपमा देखिन थालेको छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालीहरूले वार्षिक अर्बौं रुपैयाँ अनलाइन ठगी मार्फत गुमाइरहेका छन् ।
आर्थिक वर्ष २०७९।८० मा अनलाइन ठगीको रकम ३४ करोड ७२ लाख रुपैयाँ थियो । यसमा एक वर्षमै १४० प्रतिशत वृद्धि भएर आर्थिक वर्ष २०८१।८२ मा ८३ करोड ५९ लाख ९० हजार १३३ रुपैयाँ पुग्यो । चालु आर्थिक वर्ष २०८२।८३ को मंसिर मसान्तसम्ममा मात्र १ अर्ब ८४ करोड ३९ लाख ५८ हजार २७७ रुपैयाँ ठगी भएको देखिन्छ । अनलाइन ठगीको यो दायरा नेपाली वित्तीय बजारमा मडारिरहेको छ ।
पछिल्ला दिनमा ह्वाट्सएप अकाउन्ट ह्याक गरी पैसा माग्ने तथा ठगी गर्ने घटनाहरू बढेका छन् । यसलाई मध्यनजर गर्दै नेपाल प्रहरीको साइबर ब्युरोले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । ब्युरोका अनुसार साइबर अपराधीहरूले व्यक्तिको ह्वाट्सएप नियन्त्रणमा लिएर उनीहरूका साथीभाइ र आफन्तलाई सन्देश पठाउँछन् । सन्देशमा आफू समस्यामा परेको बहाना बनाउँदै रकम माग्ने वा बैंकिङ एपमा समस्या देखिएको भन्दै क्यूआर कोड पठाएर ठगी गर्ने प्रवृत्ति देखिन्छ ।
साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीद्वारा जारी सूचनामा यस्ता सन्देश प्राप्त भएमा तुरुन्त विश्वास नगर्न र सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरेर पुष्टि गर्ने आग्रह गरीएको छ । साथै आफ्नो ह्वाट्सएप सुरक्षित राख्न ओटीपी कसैसँग नबाँड्न, शंकास्पद लिंकमा क्लिक नगर्न, र अपरिचित स्रोतबाट आएका लिंक वा फाइल खोल्न र डाउनलोड नगर्न सुझाइएको छ ।
ठगीहरुको सोच एआई, नियामक राष्ट्र बैंक र प्रसाशन भने नोटिसमै सीमित
साइबर अपराधीहरू डिजिटल ठगीमा नयाँ–नयाँ तरिका अपनाइरहेका छन् । सामाजिक सञ्जाल, अनलाइन वालेट, बैंकिङ एप र म्यासेजिङ एप्समार्फत रकम ठगी गर्ने उनीहरूको प्रवृत्ति लगातार विकसित हुँदै आएको छ । अब त ठगी गर्ने सोच एआई र डिजिटल प्रविधिको गतिमा नै अघि बढिरहेको छ । तर, वित्तीय बजारको नियामक निकाय नेपाल राष्ट्र बैंक भने वित्तीय साक्षरताको नाममा नोटिसको भरमा बसेको देखिन्छ ।
डिजिटल बजारको विश्वसनीयता कायम राख्ने सरकारी निकाय, केन्द्रिय बैंक, बैंक तथा वित्तीय संस्थाको प्रमुख दायित्व हो । अझ भन्ने हो भने राष्ट्र बैंकको प्रमुख जिम्मेवारी नै हो । तर, राष्ट्र बैंक मौन निद्रामा पर्दा डिजिटल ठगीहरुको बिगबिगि थप बढ्दै गएको छ ।
अहिले वित्तीय संस्थाहरुले ग्लोबल मनी वीक २०२६ मनाइरहेको अवस्था छ । सहर केन्द्रित वित्तीय साक्षरताले ग्रामिण भेगको बासिन्दालाई छुन सकेको छैन । काठमाडौउपत्यका लगायत देशका प्रमुख सहरहरुमा राष्ट्र बैंक लगायतका संस्थाले गर्ने वित्तीय शिक्षा कार्यक्रममा ग्रामिण भेगका ति सर्वसाधारणको दैलोसम्म पुगेको देखिदैन । पाचतारे होटलको कार्यक्रमले सर्वसाधारणलाई वित्तीय साक्षरता दिन सकेको छैन ।
अझ, पछिल्लो समय डिजिटल ठगी नियन्त्रण गर्ने अनलाइन मार्फत सम्बन्धीत बैंक, सरकारी निकाय र राष्ट्र बैंकले नोटिसहरु जारी गरी रहेका छन् । ठगीहरुको सोच द्रुत गतिमा बढी रहेको बेला राष्ट्र बैंक लगायतका संस्था एक नोटिसमा नै भर साक्षरता दिइरहेको देखिन्छ । सडकमा प्लेट, पोस्टर टासेर ग्रामिण भेगमा वित्तीय संक्षारता पुग्ने अवस्था छैन ।
यता, सरकारी निकाय मन्त्रालय, प्रहरी प्रशासन र सिआईबि समेत सुस्त गतिमा देखिन्छ । ठगीका उजुरीको चाङ आईपुग्दा समेत सिआईबिले यसलाई नियन्त्रणको लागि कुनै नयाँ रणनीति अपनाउन सकेको छैन । ठगीको घटनापछि मात्र नोटिस जारी गर्ने कामले सीमित प्रभाव पार्ने भएकाले सर्वसाधारणको रकम दिन प्रतिदिन ठगीको शिकार भइरहेको छ ।
यता, राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलले भने वित्तीय साक्षरतालाई प्राथमिकता दिइरहेको र बैंक तथा वित्तीय संस्थालाई गाउँ–गाउँमा गएर जनचेतना फैलाउन निर्देशन दिइरहेको बत्ताउँछन् । सिआरएसको रकमलाई पनि वित्तीय साक्षरता प्रवद्र्धनमा प्रयोग गर्न जोड दिने गरेको उनले बताए । उनले भने, ‘हामीलाई डिजिटल संख्या बढाउनु मात्र होइन, त्यसलाई व्यवस्थित गर्नु पनि आवश्यक छ । आवश्यकता अनुसार मात्र ग्राहकलाई अनलाइन सुविधा उपलब्ध गराउने र वित्तीय ठगीमा संलग्न व्यक्तिलाई कारबाहीका लागि सिआईबि र नेपाल प्रहरीसँग सहकार्य गर्ने काम भइरहेको छ ।’
तर व्यवहारमा हेर्दा ठगी गर्ने समूहहरू अत्यन्तै द्रुत गतिमा नयाँ–नयाँ तरिका अपनाइरहेका छन्। सामाजिक सञ्जालमा फेक प्रोफाइल, फर्जी बैंकिङ एप, अनलाइन वालेट मार्फत रकम ठगी जस्ता घटनाहरू दैनिक हुने गरेका छन्। ठगी गर्ने सोच एआई गतिमा छ भने नियामक राष्ट्र बैंक र प्रशासन भने नोटिसकै सीमित उपायमा सीमित छन् ।












