गोल्छा पक्राउ परेपछि निजी क्षेत्रले एउटै स्वरमा भन्यो: ‘धरपकड रोकिनुपर्छ, नत्र अर्थतन्त्र जोखिममा पर्छ’

काठमाडौं । विकसित पछिल्ला घटनाक्रमप्रति निजी क्षेत्रले गम्भीर ध्यानाकर्षण जनाएको छ । नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भई लगानीको वातावरण बन्ने अपेक्षा गरिएका बेला उद्यमी–व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकका घटनाले निजी क्षेत्र निरुत्साहित भन्दै आपत्ति जनाएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अर्थतन्त्रमा करिब ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजश्व संकलन तथा पूर्वाधार निर्माणमा समेत गम्भीर असर पार्ने चेतावनी दिएका छन् ।बिहिबार प्रहरीले ब्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको थियो ।
विज्ञप्तिमा नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाइएको छ । आर्थिक कसुरका विषयमा पहिले सम्बन्धित पक्षलाई सुन्ने र कसुर प्रमाणित भएपछि मात्र कारबाही गर्ने अभ्यास अवलम्बन गर्न सरकारसँग आग्रह गरिएको छ ।
उद्यमी–व्यवसायीहरू अनुसन्धानमा सहयोग गर्न तयार रहेको र प्रहरीले बोलाएको समयमा उपस्थित हुने जानकारी गराउँदा गराउँदै पनि आर्थिक कसुरमै पक्राउ गरिनुले समग्र निजी क्षेत्रलाई चिन्तित र दुःखी बनाएको उनीहरूको भनाइ छ । यस प्रकारको धरपकडले व्यक्तिमात्र नभई लाखौं रोजगारी, आपूर्ति श्रृंखला, बैंकिङ क्षेत्र तथा समग्र आर्थिक प्रणालीमै गम्भीर असर पर्ने उनीहरूले औंल्याएका छन् ।
सरकारले पछिल्लो समय नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने प्रयासलाई सकारात्मक रूपमा लिएको उल्लेख गर्दै विज्ञप्तिमा निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति मन्त्रिपरिषद्बाट पारित भइसकेको अवस्थामा भइरहेका घटनाले निजी क्षेत्र थप सशंकित बनेको जनाइएको छ ।
दोष प्रमाणित भए दोषीलाई कारबाही हुनुपर्नेमा निजी क्षेत्रको कुनै विमति नरहेको जनाउँदै विज्ञप्तिमा नेपालको संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार तथा कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाको पालना गर्न सरकारसँग आग्रह गरिएको छ ।
पछिल्लो चार वर्षदेखि शिथिल बन्दै गएको अर्थतन्त्रलाई नयाँ निर्वाचनपछि बनेको बलियो सरकारले लिने नीतिगत सुधार र व्यवसायीमैत्री व्यवहारबाट गति मिल्ने अपेक्षा निजी क्षेत्रले गरेको उल्लेख गर्दै यस्ता गतिविधिले लगानी वृद्धि तथा लगानीकर्ताको आत्मविश्वासमा नकारात्मक असर नपरोस् भन्नेमा जोड दिइएको छ ।
निजी क्षेत्रको लगानी र उद्यमीहरूको उत्साहबाट मात्रै देशलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई यसतर्फ गम्भीर बन्न आग्रह गरिएको छ ।











