सामाजिक सञ्जालबाट अभिकर्ताले देशदेखि विदेशसम्म बीमाको पहुँच विस्तार गर्न सक्छन्ः मनिषा विश्वकर्मा

११ बैशाख २०८३, शुक्रबार १७:००

काठमाडौं । आईएनजीओमा काम गरिरहेकी मनिषा विश्वकर्मा हाल नेशनल लाइफ इन्स्योरेन्समा सिनियर बिजनेश म्यानेजरको रूपमा कार्यरत छिन् । सामाजिक सञ्जालबाटै व्यवसाय गराउदै आईरहेकी विश्वकर्मा २०२४ सालदेखि बीमा अभिकर्ताको क्षेत्रमा आवद्ध छिन् ।

बीमा योजनाको बारेमा विस्तृत व्याख्या सहित भिडियो बनाएर सामाजिक सञ्जालमा राखेर सो मार्फत देश तथा विदेशमा रहेका नेपालीहरुको बीमा गराउदै आईरहेकी विश्वकर्माको बीमा अभिकर्ता क्षेत्रमा प्रवेश र उनको सघर्षको बिषयमा बीमापोष्टले गरेको कुराकानीको सार:

बीमा क्षेत्रमा कहिले प्रवेश गर्नुभयो?

म नेशनल लाइफ इन्स्योरेन्समा सिनियर बिजनेश म्यानेजरको रूपमा कार्यरत छु। त्यहाँ मैले अभिकर्ता कोड लिएको सन् २०१७ मा हो। मैले अभिकर्ता पेशामा व्यावसायिक रूपमा काम गर्न थालेको सन् २०२४ देखि हो । त्यसबीचमा म बीमाको बारेमा बुझ्न अध्ययन तिर लागेको थिएँ। साथसाथै आईएनजीओमा सिनियर सहजकर्ताको रूपमा काम पनि गरिरहेको थिएँ। आईएनजीओमा काम गरिरहँदाकै अवस्थामा गाउँठाउँका चिनेजानेका व्यक्तिहरूलाई बीमाको बारेमा बुझाएर अलिअलि बीमा व्यवसाय पनि गरिरहेको थिएँ।

मैले बीमा गराएकै एकजनाले करिब तीन वर्षसम्म प्रिमियम तिरेपछि एक्सिडेन्टल क्लेम पर्यो। त्यतिबेला ठूलो रकमको बीमा गर्ने प्रचलन त्यति थिएन र उहाँ ग्रामिण भेगको मान्छे पनि हुनुहुन्थ्यो त्यसैकारण २ लाखको बीमा गराएको थिएँ। उहाँले २ किस्ता मात्रै तिरेपछि दुर्घटनामा परी ज्यान गुमाउनुभएको हो। उहाँले २८ हजार रुपैयाँ मात्रै किस्ता बुझाउनु भएकोमा दुर्घटनामा दोब्बर क्लेम पाउने हुँदा ४ लाख रुपैयाँ पाउनुभयो। त्यो भुक्तानीपछि उहाँको परिवारबाट मैले यति राम्रो फीडब्याक पाएँ कि आईएनजीओ छोडी बीमा पेशामा अघि बढ्न प्रेरणा मिल्यो। त्यसकारण सन् २०१९ देखि मंैले आईएनजीओ सँगसँगै बीमा क्षेत्रमा पनि काम गर्न शुरू गरें। काम गर्दै जाँदा सफलता मिल्दै गएपछि सन् २०२४ बाट चाहिं व्यवसायिक रूपमै बीमा पेशामा लागें।

प्रविधिले बीमा अभिकर्ता पेशामा कस्तो प्रभाव पारेको छ?
पछिल्लो समय मैले सामाजिक सञ्जालबाटै पनि व्यवसाय गर्ने गरेको छु। कुनै बीमा योजनाको बारेमा विस्तृत व्याख्या सहित भिडियो बनाएर सामाजिक सञ्जालमा राख्दा कतिपयले चासो देखाउँदै बीमा गराउन आउनुहुन्छ। उहाँहरू सम्पर्कमा आएपछि आम्दानी, समयावधि, बीमांक, उमेर, बोनसदर, लगानी आदि सबै हिसाब गरेर सुहाउँदो बीमा पोलिसी बिक्री गर्छु। बीमा गराउन आवश्यक कागजात पनि सञ्जालबाटै पठाउनुहुन्छ र रकम सीधै कम्पनीको खातामा पठाउन लगाएर बीमा गराउँछु। बीमा भइसकेपछि कुरियर मार्फत बीमितलाई नै वा बीमितका परिवारलाई हस्तान्तरण गरिन्छ।

घरदैलोमै गएर पोलिसी बिक्री गर्दा कस्तो फीडब्याक पाउनुभएको छ?

घरदैलोमै गएर पोलिसी बिक्री गर्दा सबैभन्दा उत्तम हुन्छ। बीमितको आम्दानी, अवस्था, खर्च सबै बुझेर परिवारकै अगाडि बीमा गराउन पाइन्छ। यसले छरछिमेकमा पनि एकखालको सकारात्मक सन्देश जान्छ।

पछिल्लो सयम अभिकर्ता पेशालाई ‘पार्ट टाइम’ पेशाको रूपमा हेर्ने गरिएको छ यसले आफ्नो दैनिकीमा कुनै खास परिवर्तन ल्याउन सक्छ कि सक्दैन?
मलाई बीमा अभिकर्ता पेशा आफैंमा एउटा पुण्यको काम लाग्छ। अघि मैले सुनाएको २ लाख बीमांकको घटना पछिको अर्काे घटना हो यो। उहाँले बीमा गरेको लगभग ५ वर्ष भएको थियो। उहाँ ४० वर्षकी महिला हुनुहुन्थ्यो र उहाँको श्रीमान वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। उहाँ सामान्य परिवारको हुनु भएकोले उहाँलाई मैले बाहिर बसुन्जेल आम्दानी हुन्छ त्यसैले थोरै भएपछि बीमामा लगानी गर्नुहोस् पछि एकमुष्ट भई आउँछ भन्दा उहाँले मान्नुभयो र १६ वर्षको अवधि राखेर १० लाखको बीमा गराएँ। ४ वर्षसम्म उहाँले प्रिमियर तिरिरहनुभएको थियो तर पाँचौं किस्ता तिर्ने बेलामा उहाँ बीमा गराउनुभएकी महिलाको दुबै किड्नी फेल भयो। त्यो खबर पाएपछि मैले उहाँलाई फोन गरेर सबै डकुमेन्ट हेरी १० लाखको घातक रोग बापत भुक्तानी भयो। शायद उहाँको पहिलो किस्ता म आफैंले तिरेर बीमा गराएको थिएँ पछि उहाँले त्यो रकम फिर्ता पनि दिनुभएको थियो।

कस्तो व्यक्तिमा बीमा बारेमा सकारात्मक धारणा रहेको पाउनुभयो?
ठ्याक्कै यस्तै वर्ग भन्ने त हुँदैन तर सबैले आफ्नो अवस्था अनुसार बीमा गराउनुहुन्छ। बीमा भनेको उमेर रहँदै, कमाई हुँदै र स्वस्थ रहँदै गर्ने हो। बीमा गरेर कोही गरीब भएको रेकर्ड छैन। कसैको आम्दानी धेरै होला कसैको धेरै होला तर भोलि कसलाई के हुन्छ कसैलाई थाहा हुँदैन। तर आज गरेको बीमाले भोलि केही भवितव्य भई हालेमा ठूलो आर्थिक सहायता प्राप्त हुन्छ। बीमा आजका लागि नभई भोलिका लागि गरिने कुरा हो।

बीमितमा कुन पोलिसीप्रति बढी आकर्षण पाउनुभयो?

मैले अहिले धेरै बिक्री गर्ने पोलिसी भनेको १० वर्षे योजना हो जसमा अमृत वर्षा बीमा योजना रहेको छ। यसमा ४ वर्ष बीमितको तर्फबाट लगानी हुन्छ भने बाँकी ६ वर्षको लागि कम्पनीबाटै आएको मनिब्याकले कभर गर्छ। यो पोलिसी विशेष गरी देश बाहिर बस्नेहरूले लिनुहुन्छ। किनकि विदेश गएका व्यक्ति कम्तीमा ५ वर्ष विदेशमा बस्नुहुन्छ र विदेशमा हुँदा त उहाँहरूको पर्याप्त आम्दानी हुन्छ र किस्ता तिर्न पनि सजिलो नै हुन्छ। त्यसपछि उहाँहरू स्वदेश फर्कनुभयो भने कम्पनीबाटै आउने क्यासब्याकले कभर गर्ने हुँदा धेरैजनाले यो पोलिसी रुचाउनुभएको छ।

यसमा एमडीआरटी, सीओटी, टीओटी जस्ता प्लाटफर्म छन् तपाईं अहिले कुन प्लाटमर्फममा हुनुहुन्छ?

मैले अभिकर्ता कोड लिंदै गर्दा बीमा सम्बन्धी धेरै ज्ञान थिएन तर जब विस्तारै बीमाको बारेमा बुझ्दै गएँ र यसैमा लाग्नुपर्छ भनेर अघि बढें सन् २०२५ मा म एमडीआरटी पनि भएँ। यसमा संर्घष र मिहेनत ठूलो चाहिन्छ। मैले एमडीआरटी चाहिं २ पटक गरें त्योभन्दा माथिल्लो पोष्टमा पुग्ने मेरो प्रयास जारी छ। जुनसुकै प्लाटफर्ममा भए पनि सकारात्मक सोच लिएर अघि बढ्नुपर्छ। जब हामीमा सकारात्मक सोच हुन्छ कसैले नराम्रो नै भने पनि सकारात्मक सोच नै आउँछ। सकारात्मक सोच, निरन्तरता, मिहेनत र धैर्यता लिएर अघि बढ्यौं भने हामी जुनसुकै क्षेत्रमा भए पनि सफलता अवश्य पाउँछौं।

तपाईं व्यावसायिक रूपमा अभिकर्तामा पेशमा लागेर वार्षिक सरदर कति आम्दानी गर्नुहुन्छ?

वार्षिक ठ्याक्कै यति नै भन्ने त हुँदैन तर आफूले गरेको मिहेनत अनुसार वार्षिक न्यूनतम एक लाख रुपैयाँदेखि करोडौं कमाउन पनि सकिन्छ।

अभिकर्तामा प्रोफेस्नालिजम् कत्तिको आवश्यक छ?

त्यो त एकदमै जरुरी छ। बीमा क्षेत्रमा मात्रै नभएर हरेक क्षेत्रमा हेरिने नै पर्सनालिटी हो। प्रोफेशन के छ भनेर हेरिन्छ। अब आउने नयाँ अभिकर्तालाई म के भन्न चाहन्छु भने–कमाउने मात्रै सोच नभई सकारात्मक सोच लिएर मिहेनत गर्ने अठोट सहित धैर्यता र लगनशील भएर काम गर्नुस् सफलता अवश्य पाउनुहुन्छ।

बालबीमामा बीमितको आकर्षण बढी छ भनिन्छ नी, हो ?

बच्चाको बीमा गर्दा एकजना प्रस्तावकको फ्रि रिस्क कभरेज हुने भएकोले बच्चाकै बीमालाई धेरै अभिभावकले प्राथमिकता दिनुभएको पाइन्छ। लगानीको हिसाबले पनि नेशनल लाइफमा बच्चाको १६ वर्षे बीमा गराएमा बीमांकको दोब्बर प्रतिफल आउँछ।

कुन उमेर समूहका मानिसले बीमा बढी रुचाएका छन्?

सामाजिक सञ्जालको प्रभावले पनि होला मैले १८ वर्षदेखि ५५ वर्षसम्मका मानिसहरूले बढी बीमा पोलिसी बिक्री गरेको छु। त्यसमा पनि ४० वर्षदेखि ५० वर्षसम्मका व्यक्तिहरूले धेरै बीमा गराउनु भएको छ।

कम्पनीले कुनै विशेष योजना–जसको माग धेरै छ तर हाल उपलब्ध छैन–ल्याइदिओस् भन्ने छ?

त्यस्तो छैन। नेशनल लाइफ कम्पनीले न्यून वर्गदेखि जत्तिसुकै सम्पन्न वर्ग भएपनि सबैलाई कभर गरी बनाएको सुहाउँदो योजना उपलब्ध छन् नै। जसमा मैले अघि भनेको अमृतवर्षा योजनादेखि २ वर्षपछि छुट हुने खालको योजनाहरू पनि छन्। त्यसले गर्दा बीमितले शुरुवाति चरणमा दुःखसुखले किस्ता तिरेमा पछि पछि कम्पनीले दिने क्यासब्याकले पनि किस्ता तिर्न ठूलो राहत पुग्छ। बीमितलाई किस्ता तिर्न सजिलो नै हुन्छ।

नेशनल लाइफका कर्मचारी र अभिकर्ताबीच सम्बन्ध कस्तो छ?
म आफू चाहिं कम्पनीसँग एकदमै पोजेटिभ छु। किनकी यो कम्पनीको बारेमा अध्ययन गर्दा खेरी राम्रो र पुरानो कम्पनी हो। बोनसदरको हिसाबले पनि उत्कृष्ट छ। हुनत सबै कम्पनीको बारेमा हामीलाई थाहा हुँदैन। सबै कम्पनीहरूले दिने सेवा सुविधा पनि उस्तै उस्तै नै हुन्छन्। म नेशनल लाइफको अभिकर्ता भइरहँदा मैले मेरै कम्पनी मात्रै राम्रो भन्न पनि मिल्दैन। मेरो सिद्धान्तले त्यस्तो गर्न दिंदैन।

कम्पनी पूर्णरूपमा डिजिटलाइजेशनमा जानुपर्छ भन्ने लाग्छ?
वर्तमान समयमा कोही पनि इन्टरनेटभन्दा टाढा छैनन। घरमै बसेर सारा संसारमा भइरहेको गतिविधि हेर्न सकिन्छ। त्यो हिसाबले गर्दा कम्पनी पूर्णरूपमा डिजिटलाइजेशनमा जानैपर्छ। एप वा सामाजिक सञ्जालबाटै बीमा पोलिसी खरीदबिक्री गर्न सकिएमा समयको पनि बचत हुन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*