लुम्बिनी विकास बैंकले ९ महीनामा कमायो ५६ करोड नाफा, अन्य सूचकको अवस्था कस्तो?

१५ बैशाख २०८३, मंगलवार ०९:००

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालू आवको तेस्रो त्रैमास (चैत मसान्तसम्म) ५६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो बैंकले गत आवको सोही अवधिमा कमाएको खुद नाफा ४ करोड ९७ लाख रुपैयाँको तुलनामा १०२८.२६ प्रतिशतले बढी हो।

गत आवको तुलनामा चालू आवमा बैंकको आम्दानीमा वृद्धि भएको र इम्पेयरमेन्ट चार्ज उल्लेख्य मात्रामा घटेको कारण नाफामा भारी वृद्धि आएको हो। बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३५ करोड ६६ लाख रुपैयाँबाट ७ प्रतिशतले बढेर १ अर्ब ४५ करोड १७ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १ अर्ब ५६ करोड ९८ लाख रुपैयाँबाट ६.६२ प्रतिशतले वृद्धि भई १ अर्ब ६७ करोड ३७ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा १० करोड रुपैयाँबाट ६९२ प्रतिशतले बढेर ७९ करोड ८८ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी ३ अर्ब ६२ करोड रुपैयाँ रहेको यस बैंकको शेयर क्यापिटल ३ अर्ब ६२ करोड रुपैयाँ र जगेडा कोषमा ३ अर्ब २९ करोड रुपैयाँ सञ्चिति रहेको छ। बैंकले चैत मसान्तसम्म ४६ अर्ब १ करोड कर्जा प्रवाह गरी ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। बैंकको सम्पत्तिको कुल मूल्य ६६ अर्ब ९ करोड नाघेको छ।

प्रतिशेयर आम्दानी १.८३ रुपैयाँबाट भारी वृद्धि सहित २०.६७ रुपैयाँ पुग्दा वितरणयोग्य मुनाफा पनि ४ लाख रुपैयाँबाट ह्वात्तै बढेर ५२ करोड १२ लाख रुपैयाँ नाघेको छ। बैंकको खराब कर्जा ७.१८ प्रतिशतबाट घटेर ६.४९ प्रतिशतमा झरेको छ भने प्रतिशेयर नेटवर्थ २०५.४० रुपैयाँ र बेस रेट ५.७४ प्रतिशत रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*