कच्चा पदार्थ अभावले हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द, १० महिनादेखि तलबविहीन कर्मचारी

११ बैशाख २०८३, शुक्रबार १६:०३

काठमाडौं । लामो समयदेखि आर्थिक संकट झेल्दै आएको हेटौँडा सिमेन्ट उद्योग पुनः बन्द भएको छ। कच्चा पदार्थ अभावका कारण उद्योगको उत्पादन पूर्ण रूपमा ठप्प भएको हो।

गत महिना मात्रै क्लिङ्कर उत्पादन गरेको उद्योगले आवश्यक कच्चा पदार्थ जुटाउन नसक्दा उत्पादन रोकेको जनाएको छ। उद्योगसँग कोइला, ढुङ्गा लगायत आधारभूत कच्चा पदार्थको अभाव रहेको र तत्काल आपूर्ति हुने सम्भावना पनि नरहेको बताइएको छ। कच्चा पदार्थ आपूर्तिका लागि सम्झौता भए पनि रकम अभाव देखाउँदै ठेकेदारले ढुवानी नगरेपछि उद्योग बन्द गर्नुपरेको हो।

उद्योगले मौज्दात कच्चा पदार्थ प्रयोग गरेर करिब पाँच हजार टन क्लिङ्कर उत्पादन गरिसकेको छ भने हाल सोही क्लिङ्करबाट सिमेन्ट प्याकेजिङको काम भइरहेको छ। दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको उद्योग लामो समयदेखि पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन।

यसैबीच क्लिङ्कर उत्पादनका क्रममा उद्योगका केही मेसिनमा समस्या देखिएपछि मर्मत कार्यसमेत जारी रहेको छ। आर्थिक संकटकै कारण उद्योगका कर्मचारीले करिब १० महिनादेखि तलबसमेत पाउन सकेका छैनन्।

उद्योगमा हाल १६६ जना स्थायी कर्मचारी, १०० जना दैनिक ज्यालादारी कामदार र ५२ जना सुरक्षाकर्मी कार्यरत छन्। विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ देखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन सुरु गरेको थियो। अहिले भने व्यवस्थापन, वित्तीय अभाव र कच्चा पदार्थ आपूर्तिको समस्या एकैसाथ देखिँदा उद्योग सञ्चालनमा गम्भीर चुनौती देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*