१२ अर्बमाथि आम्दानी गर्दै वर्ल्डलिङ्कको नयाँ उचाइ, इन्टरनेट बजारमा ३२ प्रतिशत हिस्सा कायम

१० असार २०८३, बुधबार १३:३९

काठमाडौं । नेपालको इन्टरनेट सेवा क्षेत्रमा अग्रणी स्थान बनाउँदै आएको वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले उक्त अवधिमा सञ्चालन आम्दानी १२ अर्ब १३ करोड १० लाख रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त आम्दानी करिब ९ प्रतिशतले बढी हो। आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको थियो। कम्पनीको आम्दानी संरचना हेर्दा इन्टरनेट सेवा नै प्रमुख आधारका रूपमा देखिएको छ। कुल आम्दानीमध्ये आधाभन्दा बढी हिस्सा इन्टरनेट सेवाबाट प्राप्त भएको छ भने अनुगमन तथा प्राविधिक सहयोग सेवाले पनि महत्वपूर्ण योगदान दिएको छ। त्यसबाहेक नेटवर्क सेवा प्रदायक, उपकरण बिक्री तथा अन्य व्यावसायिक गतिविधिबाट समेत कम्पनीले नियमित आम्दानी गर्दै आएको छ।

व्यवसाय विस्तारसँगै खर्च व्यवस्थापनमा देखिएको सुधारले कम्पनीको सञ्चालन क्षमतामा सकारात्मक प्रभाव पारेको छ। विशेषगरी ब्यान्डविथ खर्च नियन्त्रणमा रहनु, कर्मचारी तथा प्रशासनिक खर्चको प्रभावकारी व्यवस्थापन हुनु र कार्यदक्षता बढ्नुका कारण सञ्चालन नाफाको अनुपात अघिल्लो वर्षको तुलनामा उकालो लागेको छ। यही कारण कम्पनीको नगद सञ्चिति सिर्जना गर्ने क्षमता पनि उल्लेख्य रूपमा सुदृढ भएको देखिन्छ। एक वर्षअघिसम्म एक अर्ब रुपैयाँभन्दा कम रहेको ग्रस क्यास एक्रुअल्स गत वर्ष तीन अर्ब रुपैयाँ नाघेको छ।

कुल आम्दानीको ठूलो हिस्सा खुद्रा ग्राहकबाट प्राप्त भएको छ भने व्यावसायिक तथा संस्थागत ग्राहकहरूले पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन्। इन्टरनेट सेवासँगै डेटा कनेक्टिभिटी, नेटवर्क व्यवस्थापन, प्राविधिक सहायता तथा अन्य डिजिटल सेवाहरू कम्पनीका थप आम्दानीका स्रोत बनेका छन्।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै कम्पनीले ९ अर्ब ५५ करोड ८० लाख रुपैयाँ आम्दानी गरिसकेको जनाएको छ। पछिल्ला आठ वर्षको वित्तीय यात्रालाई हेर्दा कम्पनीले निरन्तर वृद्धिको क्रम कायम राखेको देखिन्छ। आर्थिक वर्ष २०७४/७५ मा चार अर्ब रुपैयाँको हाराहारीमा रहेको आम्दानी क्रमशः बढ्दै हाल १२ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ।

सन् १९९६ जनवरीमा स्थापना भएको वर्ल्डलिङ्क कम्युनिकेसन्सले तीन दशक नजिकको अनुभव बोकेको छ। ‘वर्ल्डलिङ्क’ ब्रान्डमार्फत सेवा प्रदान गर्दै आएको कम्पनी अहिले देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रूपमा स्थापित भएको छ। लाखौँ ग्राहकसम्म सेवा विस्तार गरिसकेको कम्पनीको नेतृत्व संस्थापक अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले गरिरहेका छन्। कम्पनी स्थापनाकालदेखि नै कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र निर्देशक लक्ष्मण कुमार यादव समेत व्यवस्थापनमा सक्रिय छन्। अनुभवी पाँच सदस्यीय सञ्चालक समितिले कम्पनीको रणनीतिक नेतृत्व सम्हालिरहेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले पनि कम्पनीको बजार प्रभाव स्पष्ट देखाउँछ। इन्टरनेट सेवा प्रदायकहरूको प्रतिस्पर्धी बजारमा वर्ल्डलिङ्कले करिब ३२ प्रतिशत हिस्सा कायम राखेको छ। गत आर्थिक वर्षमा कम्पनीका ग्राहक संख्या करिब १० लाख १० हजार पुगेको थियो भने चालु आवको नौ महिनासम्म यो संख्या बढेर १० लाख ८० हजार पुगेको छ। वार्षिक आधारमा ग्राहक संख्या १० प्रतिशतभन्दा बढीले विस्तार भएको देखिन्छ। उद्योगको औसत वृद्धिदरभन्दा केही कम भए पनि बजारमा थपिएका नयाँ ग्राहकहरूमध्ये झण्डै एकतिहाइ हिस्सा वर्ल्डलिङ्कले आफ्नो पक्षमा पार्न सफल भएको छ।

यद्यपि ग्राहक संख्या बढ्दै जाँदा प्रति ग्राहक औसत आम्दानीमा भने दबाब देखिएको छ। केही वर्षयता निरन्तर ओरालो लागेको औसत मासिक आम्दानी गत वर्ष घटेर ८४९ रुपैयाँमा सीमित भएको थियो। तर चालु आर्थिक वर्षको पहिलो छ महिनामा यो सूचकमा सामान्य सुधार देखिँदै ८५९ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ।

कम्पनीको विकास यात्रामा विदेशी लगानीले पनि महत्वपूर्ण भूमिका खेलेको छ। पछिल्ला केही वर्षमा विभिन्न अन्तर्राष्ट्रिय संस्थागत लगानीकर्ताबाट ठूलो परिमाणमा पूँजी भित्रिएको छ। बेलायती विकास वित्त संस्था ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्ट, डोल्मा इम्प्याक्ट फन्ड तथा फिनल्यान्डको औद्योगिक सहकार्य कोषबाट प्राप्त लगानीपछि कम्पनीमा विदेशी प्रत्यक्ष लगानीको आकार चार अर्ब ३७ करोड रुपैयाँभन्दा माथि पुगेको छ।

प्रविधिगत नवप्रवर्तनका हिसाबले पनि वर्ल्डलिङ्कले नेपाली बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। फाइबर नेटवर्क विस्तारमा अग्रसर रहेको कम्पनी नेपालमा निजी क्षेत्रबाट स्याटेलाइटमार्फत सेवा उपलब्ध गराउने पहिलो संस्थामध्ये पर्छ। आफ्नै वायरलेस ट्रङ्क नेटवर्क सञ्चालन गर्ने अग्रणी कम्पनीका रूपमा समेत यसले पहिचान बनाएको छ। सन् २०१२ मा फाइबर टु द होम प्रविधि व्यावसायिक रूपमा विस्तार गरेको कम्पनीले सन् २०१८ मा नोकियासँग सहकार्य गर्दै देशभर फाइबर पहुँच विस्तार गर्ने महत्वाकांक्षी योजना अघि बढाएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*